मेटलाइफसँगको सहकार्यमा नेपाल बीमा प्राधिकरणद्वारा ‘रिस्क रिजिलियन्स एक्सचेन्ज’ कार्यक्रम

काठमाडौं । नेपाल बीमा प्राधिकरण (एनआईए) ले बीमा क्षेत्रलाई सक्षम, दिगो र जोखिम–सहिष्णु बनाउने लक्ष्यसहित मेटलाइफसँगको सहकार्यमा ‘मेटलाइफ–एनआईए–रिस्क रिजिलियन्स एक्सचेन्जः एड्भान्सिंग इन्स्योरेन्स एक्सिलेन्स’ कार्यक्रम गरेको छ ।

उद्घाटनका अवसरमा प्राधिकरणका कार्यकारी निर्देशक सुशिल देव सुवेदीले जोखिममा आधारित निरीक्षण विश्वका विभिन्न राष्ट्रहरुले अवलम्बन गरिसकेको सन्दर्भमा प्राधिकरणले पनि टोरोन्टो सेन्टरसँग सहकार्य गर्दै आरबीएस फ्रेमवर्क तयार पारेर केही जीवन तथा निर्जीवन बीमा कम्पनीहरूमा पाइलट अभ्यास शुरू गरिएको बताए ।

जोखिममा आधारित निरीक्षण प्रणाली पूर्ण रूपमा लागू गर्न प्रविधिगत जटिलता र संस्थागत क्षमता अभावजस्ता चुनौतीहरू रहेको भन्दै सुवेदीले भविष्यमा नियामक क्षमता अभिवृद्धि गर्दै बीमा क्षेत्रलाई अझ दिगो, सक्षम र अन्तर्राष्ट्रिय अभ्याससँग जोड्न प्राधिकरण तत्पर रहेको बताए ।

कार्यक्रममा मेटलाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निर्मलकाजी श्रेष्ठले बीमा उद्योगलाई नयाँ दिशा दिन, जोखिम व्यवस्थापनलाई सबल बनाउन तथा नियामक र बीमा कम्पनीबीचको सहकार्यलाई अझ प्रगाढ बनाउन यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताए । 

कार्यक्रममा प्राधिकरणका तर्फबाट निर्देशक पुजन ढुङ्गेल अधिकारी, उपनिर्देशक राजेन्द्र महर्जन र सहायक निर्देशक गोकूलराज दहालले कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसैगरि मेटलाइफका रिक्स एण्ड क्म्पाइन्स हेड अनुपम खरेलले नियामक र बीमा कम्पनीसँगको सहकार्यले अन्तर्राष्ट्रिय अभ्यासलाई आत्मसात गरि नेपालको बीमा बजारलाई पारदर्शी, विश्वासिलो र प्रतिस्पर्धी बनाउन महत्वपूर्ण सहयोग पुर्याउने आशा व्यक्त गरे ।

त्यसैगरि कार्यक्रममा मेटलाइफका तर्र्फबाट वरिष्ठ उपाध्यक्ष कास्टिटी हा, सहायक उपाध्यक्षहरु अल्बर्ट आ, ची शान वोंग, एम्मा इनिस, जुंग स्युंग लीलगायतले भिडियो टेलिकन्फरेन्सिङ मार्फत प्रस्तुतीकरण दिएका थिए ।