अनुदान रकम माग्दै काठमाडौंमा आन्दोलनमा उत्रिए उखु किसान, भन्छन्– माग पूरा नहुन्जेल छाड्दैनाैं
काठमाडौं । विभिन्न माग गर्दै उखु किसान धर्नामा बसेका छन् ।
उखु उत्पादक महासंघ नेपालले गत आ.व. ०८१/०८२ को उखुको वक्यौता अनुदान रकम प्रतिक्विन्टल ७० का दरले भुक्तानी गर्नेपर्ने, मूल्य निर्धारण गर्दा कृषकलाई सहभागी गराउनुपर्ने, उखुकाे अनुदान भुक्तानी गर्नुपर्ने, उखुमा लगाएकाे भ्याट खारेज गर्नुपर्नेलगायतका माग गर्दै आजदेखि माइतीघरमा आन्दोलन सुरु गरेको छ ।
किसानहरु उखु नै बोकेर सडकमा धर्ना बसेका छन् ।
आफ्ना माग सम्बोधन नभएसम्म माइतीघर मण्डलामा धर्ना र विरोध कार्यक्रम जारी राख्ने उनीहरुको भनाइ छ । अनुदान निरन्तरताको माग गर्दै १३ जिल्लाका अगुवा किसानहरू माइतीघर मण्डलामा भेला भएका छन् ।
किसानहरूले आफ्नो माग पूरा नभएसम्म काठमाडौं नछोड्ने र शान्तिपूर्ण प्रदर्शनलाई निरन्तरता दिने बताएका छन् ।
सरकारले बजेट अभाव भएको र स्रोत जुटाउन नसकिएको भन्दै किसानलाई प्रतिक्विन्टल उखुमा दिँदै आएको ७० रुपैयाँ बराबर अनुदान आधा घटाएर ३५ रुपैयाँमा झारेको छ ।
सरकारले गरेकाे अनुदान कटौतीको रकम मान्य नहुने भन्दै किसानले आपत्ति जनाउँदै आएका थिए ।
आर्थिक वर्ष २०८१/८२ मा देशका १३ वटा चिनी मिलमा किसानहरूले २ करोड १५ लाख क्विन्टल उखु बिक्री गरेका थिए । यसअनुसार सरकारले किसानलाई करिब १ अर्ब ६० करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ ।