नेपाल र भियतनामबीच हवाई सम्पर्क बढाउने सहमति
नेपाल र भियतनाम पर्यटन प्रवर्द्धन गर्न हवाई सम्पर्क बढाउने सहमति भएकाे छ । आइतबार काठमाडौंमा उपराष्ट्रपति रामसहायप्रसाद यादव र भियतनामकी उपराष्ट्रपति भो थी आन्ह सुआनबीचको द्विपक्षीय वार्तामा साे सहमति भएकाे हाे ।
होटल याक एण्ड यतीमा भएको प्रतिनिधिमण्डलस्तरीय बैठकमा दुई देशबीचको व्यापार, लगानी, जलविद्युत, पर्यटन, र सांस्कृतिक सहकार्यका विषयमा गहन छलफल भएको थियो । परराष्ट्र मन्त्रालयका सहसचिव एवं दक्षिणपूर्वी एसिया प्रशान्त महाशाखाका प्रमुख प्रकाश अधिकारीका अनुसार, दुवै पक्षले मित्रता र सद्भावनामा आधारित सम्बन्धलाई थप बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उपराष्ट्रपति यादवको निमन्त्रणामा भियतनामकी उपराष्ट्रपति भो थी आन्ह सुआन शनिबार नेपाल आएकी हुन् । यो भियतनामबाट भएको नेपालको पहिलो उच्चस्तरीय भ्रमण हो । नेपाल आइपुगेलगत्तै उनले परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भेटवार्ता गरेकी थिइन्, जसमा राणाले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा हवाई उडान सुरु गर्न प्रस्ताव गरेकी थिइन् ।
उपराष्ट्रपति सुआनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनी सोमबार नै स्वदेश फर्किनेछिन् ।