एक वर्षमा भित्रियो १७ खर्ब २३ अर्ब रेमिट्यान्स

गत वर्ष अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.३ प्रतिशतले वृद्धि भई १२ अर्ब ६४ करोड पुगेको छ । अघिल्लो वर्ष १४.५ प्रतिशतले बढेको थियो ।

काठमाडौ । गत आर्थिक वर्ष २०८१÷८२ मा नेपालमा १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ विप्रेषण आप्रवाह (रेमिट्यान्स) भित्रिएको छ । यो विप्रेषण आप्रवाह अघिल्लो वर्षको तुलनामा १९.२ प्रतिशतले बढी हो ।

गत वर्ष अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.३ प्रतिशतले वृद्धि भई १२ अर्ब ६४ करोड पुगेको छ । अघिल्लो वर्ष १४.५ प्रतिशतले बढेको थियो ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार २०८२ असारमा १ खर्ब ८९ अर्ब ११ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्ष असारमा १ खर्ब १७ अर्ब ७८ करोड रुपैयाँ रेमिट्यान्स भिभिएको थियो ।

यो अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १८ खर्ब ७४ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय १५ खर्ब ७१ अर्ब २४ करोड रहेको थियो । असारसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ५ लाख ५ हजार ९५७ जना र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख ३३ हजार ३०९ जना रहेको छ । अघिल्लो वर्ष यस्तो सङ्ख्या क्रमशः ४ लाख ६० हजार १०२ जना र २ लाख ८१ हजार १९५ जना रहेको छ ।