बैंकहरूको ब्याजदर २ प्रतिशत विन्दुले घट्दा विकास बैंक र फाइनान्सको कतिले घट्यो ?
बैभन्दा बढी ब्याजदर विकास बैंकहरूको २.३९ प्रतिशतले घटेको छ । त्यसपछि वित्त कम्पनीहरुको २.३३ प्रतिशत विन्दु र सबैभन्दा कम वाणिज्य बैंकहरुको २.०८ प्रतिशत विन्दुले मात्रै घटेको छ ।
काठमाडौं । पछिल्लो एक वर्षमा औसतमा ऋणको ब्याजदर २ प्रतिशत विन्दुले घटेको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार बैंकहरुको आधार ब्याजदर २ प्रतिशत विन्दुले घटेको असर ऋणीको ब्याजमा पनि परेको हो ।
समग्रमा बैंक तथा वित्तीय संस्थाहरुको आधार ब्याजदर घटेपछिको असर कर्जाको ब्यजादरमा परेको हो । त्यसो त यसअवधिमा निक्षेपको ब्याजर पनि घटेको छ । २०८१ असारमा बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ९.९३ प्रतिशत, विकास बैंकहरूको ११.३४ प्रतिशत र वित्त कम्पनीहरूको १२.५५ प्रतिशत रहेकोमा २०८२ असारमा कर्जाको भारित औसत ब्याजदर क्रमशः ७.८५ प्रतिशत, ८.९५ प्रतिशत र १०.२२ प्रतिशत कायम भएको छ ।
यसरी हेर्दा सबैभन्दा बढी ब्याजदर विकास बैंकहरूको २.३९ प्रतिशतले घटेको छ । त्यसपछि वित्त कम्पनीहरुको २.३३ प्रतिशत विन्दु र सबैभन्दा कम वाणिज्य बैंकहरुको २.०८ प्रतिशत विन्दुले मात्रै घटेको छ ।
राष्ट्र बैंकको तथ्यांक अनुसार २०८१ असारमा वाणिज्य बैंकहरूको औसत आधार दर ८ प्रतिशत रहेकोमा २०८२ असारमा आउँदा ६.०२ प्रतिशत कायम छ । त्यस्तै, विकास बैंकहरूको ९.७१ प्रतिशतको आधार ब्याजदर घटेर ८.०३ प्रतिशत कायम भएको छ भने वित्त कम्पनी (फाइनान्स)हरूको ११.२१ प्रतिशतबाट घटेर ८.९७ प्रतिशत तय भएको छ ।
२०८२ असारमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ४.१९ प्रतिशत, विकास बैंकको ४.८८ प्रतिशत र वित्त कम्पनीको ६.०१ प्रतिशत कायम भएको छ । जवकी २०८१ असारमा बैंकहरुको ५.७७ प्रतिशत, विकास बैंकहरूको ६.६३ प्रतिशत र वित्त कम्पनीहरूको ७.९३ प्रतिशत निक्षेपको भारित औसत ब्याजदर रहेको थियो ।
२०८१ असारमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर ३ प्रतिशत रहेकोमा २०८२ असारमा २.९५ प्रतिशत छ । बैंक तथा वित्तीय संस्थाहरूबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०८१ असारमा २ं.९९ प्रतिशत रहेकोमा २०८२ असारमा २.९६ प्रतिशत छ ।