नेपाल-ब्राजिल चेम्बर अफ कमर्सको अध्यक्षमा चापागाईं, ‘द्विपक्षीय व्यापारलाई नयाँ चरणमा लैजानुपर्छ’

काठमाडौं । नेपाल-ब्राजिल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजको ११औँ वार्षिक साधारण सभाले अखिल चापागाईंको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षहरूमा विक्रम राई, चेंग अग्रवाल र विनय उपाध्याय चयन भएका छन् भने महासचिवमा निरज तिमिल्सिना आएका छन् ।

त्यस्तै, सचिवमा ज्योत्सना श्रेष्ठ र प्रेम पाण्डे चयन हुँदा कोषाध्यक्षमा राकेश श्रेष्ठ, र्कायसमिति सदस्यहरूमा गोकर्ण लामिछाने, शेर बहादूर केसी, विजय चौधरी, शुशील कडरिया, निर्मल राज पौडेल, लवराम दाहाल र फडिन्द्र राज गिरी चयन भएको चेम्बरले जनाएको छ ।

अध्यक्षको पदभार ग्रहण गर्दै चापागाईंले नेपाल-ब्राजिलबीच आपसी व्यापार, लगानी, प्राविधिक सहयोग र सांस्कृतिक सम्बन्धलाई अझै प्रभावकारी बनाउन प्रतिबद्ध रहने जनाए ।

‘हामीले अब ब्राजिलसँग द्विपक्षीय व्यापारलाई नयाँ चरणमा लैजानुपर्छ। नेपाली हस्तकला, चिया, कपडा, पर्यटन र ब्राजिलको कच्चा पदार्थ, कृषि प्रविधि तथा शैक्षिक आदान-प्रदान दुवै पक्षका लागि फाइदाजनक बन्न सक्छन्,’ अध्यक्ष चापागाईंले भने ।

कार्यक्रमका प्रमुख अतिथि नेपालका लागि ब्राजिलका राजदूत कार्लोस डेन हार्टोगले सभाको उद्घाटन गरेका थिए। कार्यक्रममा राजदूत हार्टोगले आफ्नो ४ वर्षे कार्यकाल नेपालका लागि एउटा अविस्मरणीय क्षणको रुपमा रहको उल्लेख गरे । उनले आफू जहाँ रहे पनि नेपाल र ब्राजिलबीचको आर्थिक एवं कुटनीतिक सम्बन्धलाई बलियो बनाउन सधै लागि पर्ने बताए ।

सभामा प्रस्तुत प्रतिवेदनअनुसार नेपालले ब्राजिलसँगको व्यापार विस्तारका लागि कृषि उत्पादन, हस्तकला, रेडिमेड गार्मेन्ट निर्यात गर्न सक्ने सम्भावना रहेको बताइएको छ । ब्राजिलबाट नेपालले कच्चा पदार्थ, औद्योगिक उपकरण, प्रविधि, वाइन तथा खाद्य सामग्री आयात गरेर नेपाली उद्योगलाई प्रतिस्पर्धात्मक बनाउन सक्ने चेम्बरले उल्लेख गरेको छ ।

कार्यक्रममा व्यवसायी, उद्योगपति, वाणिज्य दूतावासका पदाधिकारी, कूटनीतिज्ञ, विभिन्न संघ-संस्थाका प्रतिनिधि तथा चेम्बरका सदस्यहरू सहभागी थिए ।