प्राविधिक जनशक्ति थपेर भए पनि बजेट कार्यान्वयन गरौं : पर्यटनमन्त्री पाण्डे
भौतिक र वित्तीय प्रगतिमा असन्तुलन देखिँदा योजनाको यथार्थ विवरण आउन सकिरहेको छैन, त्यसैले कार्यान्वयन गर्न नसकिने योजना सुरुमै छाड्न सक्नुपर्छ
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले प्राविधिक जनशक्ति थप गरेरै भए पनि चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा पूर्णध्यान दिन मन्त्रालय र मातहत निकायलाई निर्देशन दिएका छन् ।
आइतबार मन्त्रालय स्तरीय विकास समस्या समाधान समिति र आव २०८१/८२ को प्रगति समीक्षा बैठकमा मन्त्री पाण्डेले योजना अधुरै नछाड्ने गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । ‘प्राविधिक जनशक्ति थपेरै भए पनि बजेट कार्यान्वयनमा ध्यान दिनुपर्छ । भौतिक र वित्तीय प्रगतिमा असन्तुलन देखिँदा योजनाको यथार्थ विवरण आउन सकिरहेको छैन, त्यसैले कार्यान्वयन गर्न नसकिने योजना सुरुमै छाड्न सक्नुपर्छ,’ उनले भने ।
मन्त्री पाण्डेले मन्त्रालयले मिहिनेतपूर्वक तयार पारेका योजनालाई व्यवहारमा उतार्न तीनै तहबीच मजबुत समन्वय आवश्यक रहेको प्रष्ट पारे । उनले मातहत महाशाखालाई सेवाग्राहीका फाइल अल्झन नदिने र सक्रिय भएर काम गर्न निर्देशन दिए । प्रभावकारी काम नगर्ने कर्मचारीले मार्ग प्रशस्त गर्नुपर्ने समेत उनले बताए । समीक्षा क्रममा मन्त्री पाण्डेले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) र नेपाल माउन्टेन एकेडेमीको कामको स्वरूप भिन्न भएकाले ती संस्थालाई मर्ज गर्ने सम्भावना नरहेको पनि बताए ।
बैठकमा मन्त्रालय तथा सम्बन्धित निकायको बजेट र खर्च स्थिति, १६औं योजना एवं वार्षिक कार्यसम्पादन सूचक, राष्ट्रिय गौरवका आयोजना, अन्य योजना प्रगति, गुनासो तथा बेरुजु, नीति तथा कार्यक्रम र बजेट वक्तव्य कार्यान्वयन अवस्था, प्रमुख उपलब्धि र विद्यमान समस्या सम्बन्धी प्रतिवेदन प्रस्तुत गरिएको थियो । कार्यक्रममा प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोगका सचिव तथा सदस्य सहित उच्च पदाधिकारीहरूको उपस्थिति थियो । मन्त्रालयका सचिव हरि मैनालीले मातहत निकायका प्रमुखसँग कार्यसम्पादन सम्झौता गराए ।