इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय विरुद्ध आन्दोलनको घोषणा
नेपालको गौरवशाली सम्पदाहरू नै सखाप पारेर नेपाल र नेपालीको अस्तित्व समाप्त पार्ने ग्रान्डडिजाइनको पछिल्लो तारो देवनागरी लिपी बनेको जाग नेपाली अभियानको निष्कर्ष छ ।
काठमाडौँ । देवनागरी लिपीको नेपाली भाषालाई समाप्त पार्ने खेलअन्तर्गत सरकारले इम्बोस्ड नम्बर प्लेट जडानको लागि उर्दी जारी गरेको भन्दै जाग नेपाली अभियानले आपत्ति जनाएको छ ।
आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै जाग नेपालीका संयोजक डा.दिपेश केसीले देवनागरी लिपीलाई मेटाएर जात, जाति, भाषा भाषी समुदायलाई छिन्नभिन्न पार्ने र एकआपसमा लडाएर देशलाई रगतको आहालमा परिणत गर्ने खेल भइरहेको बताए ।
‘देवनागरी लिपी यो देशको एकताको प्रतीक हो । तराईको एउटा मधेशीले पनि यो लिपी बुझ्छ, पहाडको पहाडीले पनि यो लिपी बुझ्छ र हिमालको एउटा हिमालीले पनि यो लिपी बुझ्छ, चिन्छ । यो लिपीलाई मेटाएर यो देशको जात, जाति, भाषा भाषी समुदायलाई छिन्नभिन्न पारेर, लडाएर यो देशलाई रगतको आहालमा डुबाउन खोजिएको छ । यो देशमा हामी हामीलाई लडाउने खेल भइरहेको छ,’ उनले भने ।
जाग नेपाली अभियानले नेपालको धर्म, संस्कृति, परम्परा, भाषा, लिपिमाथि योजनाबद्ध आक्रमण हुँदै आएको बताएको छ । नेपालको गौरवशाली सम्पदाहरू नै सखाप पारेर नेपाल र नेपालीको अस्तित्व समाप्त पार्ने ग्रान्डडिजाइनको पछिल्लो तारो देवनागरी लिपी बनेको जाग नेपाली अभियानको निष्कर्ष छ । इम्बोस्ड नम्बर जडानको सन्दर्भमा राज्यका जिम्मेवार निकायमा रहेकाहरूलाई नै प्रभावित पारिएको र अरबौँ कमिसनको खेल भएको जाग नेपाली अभियानको ठहर छ ।