इम्बोस्ड नम्बर तत्काल जडान नभए जरीवाना तिराउने ब्यवस्थाबाट पछि हट्यो सरकार, आफू अनुकुल राख्न सकिने

‘इम्बोस्ड नम्बर प्लेट जडान नगरेको खण्डमा तुरुन्त जरिवाना वा कारबाहीमा परिने भन्ने भ्रम समेत उत्पन्न भएको विषयमा तत्काललाई कुनै किसिमको दण्ड जरिवाना नगरिने व्यहोरा समेत स्पष्ट पारिन्छ

काठमाडौ ं। सवारीसाधनको दर्ता, नामसारी र नवीकरणमा असोज १ देखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने विषयमायातायात व्यवस्था विभाग केही नरम भएको छ । विभागको यसअघिको निर्णयलाई लिएर चौतर्फी आलोचना भईरहँदा विभागले मंगलबार प्रेस विज्ञप्ति निकालेर तत्काल इम्बोस्ड नम्बर जडान नगर्नेमाथि जरिवाना नतिराउने जनाएको छ ।

विभागले सवारी चालक÷धनीले आफूलाई अनुकूल हुने समयमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सक्ने जानकारी दिएको छ । ‘इम्बोस्ड नम्बर प्लेट जडान नगरेको खण्डमा तुरुन्त जरिवाना वा कारबाहीमा परिने भन्ने भ्रम समेत उत्पन्न भएको विषयमा तत्काललाई कुनै किसिमको दण्ड जरिवाना नगरिने व्यहोरा समेत स्पष्ट पारिन्छ,’ विभागका महानिर्देशक राजिव पोखरेलले विज्ञप्तिमा भनेका छन्, ‘साथै आफूलाई अनुकूल भएको समयमा सवारी दर्ता गरेको यातायात कार्यालयमा गई इम्बोस्ड नम्बर प्लेट जडान गरी डिजिटलाइजेसन कार्यमा सहयोग गर्न समेत अनुरोध गरिन्छ ।’

विभागसँग इम्बोस्ड नम्बर प्लेट सहजरुपमा जडानका लागि यातायात कार्यालयहरुमा आवश्यक पूर्वाधार र जनशक्तिको व्यवस्था नभएको भनेर आलोचना भइरहेको विषयमा पनि स्पस्ट पार्दै आवश्यक संयन्त्र तयार रहेको दाबी गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा साउन २० गते बसेको प्रदेशका यातायात मन्त्री सम्मिलित विषयगत समितिको निर्णय अनुसार सवारी दर्ता, नामसारी र नवीकरण गर्दा असोज १ गते देखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने सूचना विभागले भदौ ३ गते निकालेपछि चौतर्फी विरोध हुँदै आएको छ ।

‘इम्बोस्ड नम्बर प्लेट जडानसम्बन्धी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मिति २०८१।३।२४ को पत्र र पुनः ताकेता पत्रमार्फत् विभाग र आपूर्तिकर्तावीच पछिल्लो पटक भएको संशोधित सम्झौताको म्यादभित्रै सम्झौतामा तोकिएको सम्पूर्ण कार्य गर्न आवश्यक कदम उठाउन आदेश भएको साथै यस कार्यलाई थप व्यवस्थापन गर्न विभागबाट २०८१।११।१९ मा सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान सम्बन्धी निर्देशिका, २०८१ जारी गरिएको व्यहोरासमेत अनुरोध छ,’ विभागले भनेको छ ।

विभागले २०७३ जेठ १७ गते पाँच वर्षका लागि २५ लाख थान इम्बोस्ड नम्बर प्लेट उत्पादन गर्ने सम्झौता गरेकामा म्याद थप पछि पनि आगामी मंसिर ११ गते सकिंदैछ । तर, अहिलेसम्म एक लाख सवारीसाधनमा पनि इम्बोस्ड नम्बर प्लेट जडान भएको छैन ।



प्रकाशन भएका दस्तावेजहरू

68adbdd0ac105_1756216784.pdf