आजदेखि अमेरिका निर्यात हुने भारतीय सामानमा ५० प्रतिशतसम्म कर, रोजगारी कटौति–सेयर बजारमा हलचल
आज गणेश चतुर्थीका कारण भारतीय सेयर बजार बन्द हुने भएकाले अमेरिकी करको असर कस्तो पर्छ भनेर हेर्न बिहीवारसम्म कुर्नुपर्ने हुन्छ ।
अमेरिकाले मंगलबार भारतमा थप २५ प्रतिशत कर लगाउने आधिकारिक सूचना जारी गरेपछि भारतमा हलचल मच्चिएको छ । भारतीय समय अनुसार आज बुधबार अर्थात् अगस्ट २७ को बिहान ९ः३१ बजे देखी लागु हुने करसँगै अमेरिका निर्यात हुने सामानमा कुल कर ५० प्रतिशत पुगेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट ६ मा रूसबाट तेल खरिद गरेबापत जरिवानाको रूपमा थप घोषणा गरेको थिए । त्यसअघि नै अगस्ट ७ देखि लागू हुनेगरि अमेरिका निर्यात हुने भारतीय सामानमा २५ प्रतिशत कर लगाइएको थियो ।
मंगलबार जारी आदेशमा भनिएको छ,– ‘यस कागजातको सूचीमा उल्लेख गरिएको शुल्क भारतबाट आउने सामानहरूमा लागु हुनेछ । यी सामानहरू या त प्रयोगको लागि अमेरिका ल्याइनेछ वा प्रयोगको लागि गोदामबाट बाहिर निकालिनेछ ।’
थपिएको करले यसअघि अप्ठ्यारोमा परेका उद्योगहरुमा थप संकट पैदा गर्नेछ । ट्रम्पको करले गहना, कपडा, अटो, समुद्री खाना क्षेत्रका उद्योगहरूको नाफा घटाउन सक्छ । अमेरिकासँग नयाँ व्यापार सम्झौता भएन वा कर घटाइएन भने ४८.२ अर्ब अमेरिकी डलरको निर्यातमा प्रत्यक्ष प्रभाव पर्ने विज्ञहरुले जनाएका छन् । तर, अमेरिकी करले सूचना प्रविधि, औषधि र विद्युतीय उद्योगहरुलाई भने कुनै असर गर्ने छैन । ट्रम्पले रूसी सामान आयात बन्द नगरेमा आगामी दिनमा थप क्षेत्रमा कर लगउने उद्घोष गरेका छन् ।
चीन पछि भारत रूसी तेलको सबैभन्दा ठूलो खरिदकर्ता हो । युक्रेन युद्ध अघि भारतले रूसबाट केवल ०.२ प्रतिशत (प्रतिदिन ६८ हजार ब्यारेल) तेल आयात गर्ने गरेकोमा मे २०२३ सम्ममा यो बढेर ४५ प्रतिशत (प्रतिदिन २० लाख ब्यारेल) पुगेको छ थियो । २०२५ को जनवरी देखि जुलाईसम्म मात्रै भारतले रूसबाट हरेक दिन १७.८ लाख ब्यारेल तेल खरिद गरिसकेको छ । पछिल्ला दुई वर्षदेखि भारतले हरेक वर्ष १३० अर्ब डलर (११.३३ लाख करोड भारतीय रुपैयाँ) भन्दा बढी मूल्यको रूसी तेल खरिद गर्दै आएको छ ।
भारतले अमेरिकामा सबैभन्दा धेरै गहना, कपडा, मेसिनरी र रसायन निर्यात गर्छ । ५० प्रतिशत करले अमेरिकामा यी चीजहरू महँगो बनाउँदा त्यसको अर्डरहरू घट्न गई उद्योगहरु धरासायी हुन सक्ने बताइएको छ । उद्योगहरु बन्द भएमा रोजगारी गुम्ने जोखिम रहन्छ र यसले अन्ततः सरकारी आम्दानी (राजस्व) मै प्रभाव पर्नेछ ।
अमेरिकाले भारतीय उत्पादनमाथि ५० प्रतिशत कर लगाउने नीति लागु गरेसँगै भारतीय सेयर बजारमा हलचल मच्चिएको छ । ५० प्रतिशत कर लागू हुने अघिल्लो दिन मंगलबार भारतको सेयर बजारमा ठूलो गिरावट आएको छ ।
भारतीय सेयर बजारको सूचंकाकहरुमध्ये स्टक एक्सचेन्ज सेन्सेटिभ इण्डेक्स (सेन्सेक्स) ८४९.३७ अंकले घटेर ८०७८६.५४ मा बन्द भएको छ भने अर्काे स्टक सूचकांक नेशनल स्टक एक्सचेन्ज फिप्टी (नेप्टी) २५५.७० अंक घटेर २४७१३.०५ विन्दुमा बन्द भएको छ ।
यद्यपी बुधबार (आज) गणेश चतुर्थीका कारण भारतीय सेयर बजार बन्द हुने भएकाले अमेरिकी करको असर कस्तो पर्छ भनेर हेर्न बिहीवारसम्म कुर्नुपर्ने हुन्छ । तर, अमेरिकी करको विषयलाई लिएर भारतीय लगानीकर्ताहरु शसंकित देखिएका छन् ।