आजदेखि खुल्याे बन्दीपुर केवलकारकाे आईपीओ
बन्दीपुर केवलकार एंड टुरिजमले आज (भदौ ११ गते) देखि आईपीओ निष्कासन गर्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले जारी पूँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७०६७ प्रतिशत अर्थात ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ५ लाख ६६ हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र ५ लाख २९ हजार ४०० कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरि बाँडफाँट गरिसकेको छ । त्यसैगरी, कम्पनीले १ लाख ५८ हजार ८२० कित्ता सेयर कर्मचारीहरुका लागि र २ लाख ६४ हजार ७०० कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि बाँडफाँट गरिसकेको छ ।
अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४३ करोड ४१ लाख ८ हजार रुपैयाँबराबरको ४३ लाख ४१ हजार ८० कित्ता शेयर निष्काशन गर्न लागेको हो ।