नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माण असोजभित्र सकिने, निर्माण छिट्टै सञ्चालन गर्ने विभागको तयारी
सरकारले बाधा अड्काउ फुकाउने आदेश जारी गरेर सुरुङ मार्ग सञ्चालन तथा व्यवस्थापन गर्ने कम्पनी छनोटको बाटो खोलिसकेको छ भने सुरुङ मार्ग उपभोगबापत सवारीसाधनले तिर्नुपर्ने दस्तुर पनि तोकिसकेको छ ।
काठमाडौं। नागढुंगा-नौबिसे सुरुङमार्ग बनाउने काम दुई महिनाभित्र सकिने भएको छ । सडक विभागले सुरुङ मार्ग बनाउने काम अन्तिम चरणमा पुगेको जनाएको छ ।
विभागले असोजभित्र निर्माण कार्य सम्पन्न हुने बताएको छ । विभागका अनुसार सुरुङ मार्ग निर्माणमा हालसम्म ९४.५ प्रतिशत भौतिक प्रगति भएको छ ।
सरकारले बाधा अड्काउ फुकाउने आदेश जारी गरेर सुरुङ मार्ग सञ्चालन तथा व्यवस्थापन गर्ने कम्पनी छनोटको बाटो खोलिसकेको छ भने सुरुङ मार्ग उपभोगबापत सवारीसाधनले तिर्नुपर्ने दस्तुर पनि तोकिसकेको छ ।
सुरुङमार्ग प्रयोगकर्ताबाट उपभोग दस्तुर संकलनका लागि आरएफआईडी बेस्ड टोल कलेक्सन प्रणाली जडानको काम भइरहेको विभागले जनाएको छ ।
विभागले सुरुङमार्ग संचालन, व्यवस्थापन र मर्मतका लागि कम्पनी छनोटको तयारी अगाडि बढाएको छ । सेवा प्रदायक खरिद कार्यका लागि अर्थ मन्त्रालयबाट स्रोत सहमति प्राप्त भएको र खरिद निर्देशिका मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको विभागले जनाएको छ ।
कम्पनी छनोटका लागि तयार पारिएको नमुना बोलपत्र अहिले सार्वजनिक खरिद अनुगमन कार्यालयमा छलफलको क्रममा छ। कम्पनी छनोट गरी सुरुङ मार्ग चाँडै सञ्चालनमा ल्याउने विभागले जनाएको छ ।
थप तस्बिरहरू