कालाेबजारी र महंगी नियन्त्रण गर्ने उपप्रधानमन्त्री सिंहको दाबी, पार्टी कमिटीसँग मागे याेजना
उपभोक्ता, व्यवसायी, जनप्रतिनिधि लगायतका सरोकारवालाको सुझाव संकलन गरी लिपिबद्ध गरिने र मूल्य निर्धारण गर्दा किसान, व्यवसायी तथा उपभोक्ताको हितलाई ध्यान दिइने छ ।
काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारले कालोबजारी र महँगी नियन्त्रण गर्ने दाबी गरेका छन् ।
नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागले बुधबार बुटवलमा आयोजना गरेको ‘दैनिक उपभोग्य वस्तुको सुनिश्चितता : उपभोक्ताको अधिकार हाम्रो चासो’ विषयक अन्तरसंवादमा मन्त्री सिंहले चाडपर्व नजिकिँदै जाँदा बजारमा कालोबजारी र महँगी बढ्ने गुनासो आउने गरेको बताए ।
सरकारले कडाइका साथ अनुगमन गरिरहेको भन्दै मन्त्री सिंहले उपभोक्ताको अधिकार सुनिश्चित गर्न सरकार सदैव तयार रहेको बताए । उपभोक्ता, व्यवसायी, जनप्रतिनिधि लगायतका सरोकारवालाको सुझाव संकलन गरी लिपिबद्ध गरिने र मूल्य निर्धारण गर्दा किसान, व्यवसायी तथा उपभोक्ताको हितलाई ध्यान दिइने सिंहको भनाइ थियो ।
सिंहले उपभोक्ताले सहज र सुलभ रूपमा स्वस्थ खाद्यान्न पाउनुपर्नेमा सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै चाडपर्वको मौका छोपेर कालोबजारी गर्ने वा उपभोक्ताको स्वास्थ्यसँग खेलबाड गर्ने जो कसैलाई पनि सरकारले कडा कारबाही गर्ने चेतावनी दिए ।
त्यस्तै, उपप्रधानमन्त्री सिंहले उपभोग्य वस्तुको आन्तरिक उत्पादन बढाउनुपर्नेमा जोड दिए । अहिलेको सरकार जनताको जीवन र जीविकाप्रति गम्भीर रहेको भन्दै सिंहले उपभोक्ताको हक–अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।
कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय प्रचार विभाग प्रमुख मीन विश्वकर्माले अन्तरसंवादले उपभोक्ताको अधिकार सुरक्षित गर्न र उपभोक्तामैत्री नीति बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कांग्रेस केन्द्रीय सदस्य तथा आपूर्ति तथा उद्योग विभाग प्रमुख गुरु बरालले जनजीविका महँगो बन्दै गएको विषयमा राजनीति गर्नेहरू सचेत हुनुपर्ने धारणा राखे । उपभोक्ताको अधिकारसँगै उद्योगी–व्यवसायीका समस्याबारे छलफल गर्न यो कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए । बरालले व्यवसायीमा इमानदारी र सरकारले सहजीकरण गर्नुपर्ने आवश्यकता औंल्याए ।