प्राविधिक त्रुटिका कारण राेक्का हिम स्टारकाे सेयर दोस्रो बजारमा सूचीकृत
काठमाडौं । हिम स्टार ऊर्जा कम्पनीको सेयर दोस्रो बजारमा सूचीकृत भएको छ । कम्पनीको ३७ लाख ३० हजार कित्ता साधारण सेयर सूचीकृत भएको हो ।
जसमध्ये ३० प्रतिशत सेयर सर्वसाधारण समूहको र बाँकी ७० प्रतिशत संस्थापक समूहको छ । आइतबारदेखि कम्पनीको सेयर कारोबार हुने नेप्सेले जनाएको छ ।
आरटीएस सेवा एनआईसी एसिया क्यापिटलले दिनेछ । कम्पनीले एचआईएमएसटीएआर (हिमस्टार) कोड पाएको छ ।
पहिलो पटक कारोबार हुँदा मूल्य प्रतिकित्ता ९९ रुपैयाँ १७ पैसादेखि २९७ रुपैयाँ ५१ पैसासम्म हुनेछ । पहिलो कारोबारपछि दिनभर मूल्य १० प्रतिशत बढ्न वा घट्न सक्नेछ । यसअघि कम्पनीको आईपीओ बाँडफाँटपछि प्राविधिक त्रुटि हुन गएको देखिएकाले उक्त त्रुटि सच्याउने समयावधिसम्म सम्पूर्ण धितोपत्र रोक्का राखेको थियो ।
असार ३२ गते कम्पनीको आईपीओ बाँडफाँट भएको थियो । कम्पनीले ओखलढुंगा र सोलुखुम्बुको सीमामा बग्ने बुकु कापटी खोलाबाट ५ मेगावाट क्षमताको आयोजना सञ्चालन गरेको छ । यसको कुल लागत १ अर्ब २३ करोड ८५ लाख ३६ हजार १३५ रुपैयाँ तथा प्रतिमेगावाट लागत २४ करोड ७७ लाख ७ हजार ३८७ रुपैयाँ छ ।