लागत र प्रतिफल मूल्याङ्कन नगरी योजना बैंकमा समावेश गर्ने परिपाटीले समस्या : अर्थमन्त्री पौडेल
योजना निर्माण र बजेट विनियोजनलाई जोड्न सकेका छौँ कि छैनौँ भनेर गम्भीर समीक्षा गर्नुपर्छ, योजना निर्माण गर्दा प्राथमिकतामा ध्यान दिनुपर्छ ।
काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले योजनाको लागत र प्रतिफल मूल्याङ्कन नगरी योजना बैंकमा योजना समावेश गर्ने परिपाटीले समस्या सिर्जना भएको बताएका छन् । ‘अहिले स्थिर र शक्तिशाली सरकार छ, यतिबेला गरेको कामले सार्थकता पाउँछ, हामी शासकीय रुपमा सहमत भए पनि योजनालाई आवश्यकता र स्रोत व्यवस्थापनसँग जोडेर परिस्थिति सापेक्ष विनियोजनलाई ध्यान दिनुपर्छ,’ अर्थमन्त्री पौडेलले भने, ‘तीन करोड भन्दा साना योजना सङ्घीय सरकारले कार्यान्वयन नगर्ने विषय लागू गर्न ठूलो चुनौती व्यहोर्नुपरेको छ ।’
पूर्व योजनाकार मञ्च नेपालले ललितपुरमा आयोजना गरेको ‘नेपाललाई अल्पविकसितबाट विकासशील देशमा स्तरोन्नति र बजेट कार्यान्वयनमा चुनौती’ विषयक सार्वजनिक नीति बहस कार्यक्रममा अर्थमन्त्री पौडेलले विश्वव्यापी सन्दर्भ र परिस्थितिअनुसार अनुदानमुखी भएर अगाडि बढ्न नसकिने र मुलुकको विकासका लागि प्राप्त हुने सहुलियतपूर्ण ऋणलाई सही रुपमा परिचालन गर्नुपर्ने बताए ।
‘योजनाबद्ध विकासमा अगाडि बढेको पाँच दशक बित्दा पनि हामीले सोचेअनुसार काम र स्रोत व्यवस्थापन गर्न सकेका छैनौँ, योजनालाई आवश्यकतासँग कसरी जोड्ने भन्ने प्रमुख चुनौती हो,’ अर्थमन्त्री पौडेलले भने, ‘योजना निर्माण र बजेट विनियोजनलाई जोड्न सकेका छौँ कि छैनौँ भनेर गम्भीर समीक्षा गर्नुपर्छ, योजना निर्माण गर्दा प्राथमिकतामा ध्यान दिनुपर्छ ।’