मधेश प्रदेशसभामा अर्थमन्त्रीको राजीनामा माग्दै अवरोध भएपछि सदन स्थगित

जनकपुरधाम । प्रतिपक्षी दलहरूले अर्थमन्त्री सुनीलकुमार यादवको राजीनामा माग गर्दै अवरोध गरेपछि मधेश प्रदेशको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक जवाहरलाल कुशवाहाले अर्थमन्त्रीले त्रुटिपूर्ण बजेट ल्याएको र बहुमतले पास गरिएको भन्दै उनको राजीनामा मागे । अर्थमन्त्रीको राजीनामा नआएसम्म सदन अवरोध जारी रहने उनले बताए ।

त्यसपछि नेपाली कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले प्रतिपक्षीलाई प्रतिवाद गरे । सर्वदलीय बैठकमा नआउने र सदनमा सदन अवरुद्ध गरेर झमेला गरेको आक्रोश पोखे ।

यसपछि सभामुख रामचन्द्र मण्डलले बैठक अर्को सूचना नहुञ्जेलसम्मका लागि स्थगित गरे ।

मधेश प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ को त्रुटिपूर्ण र बिचौलिया हावी भएको बजेट प्रतिपक्षी दलहरूको बहिष्कारबीच बहुमतले पास गरेको भन्दै प्रतिपक्षी दलहरू असन्तुष्ट छन् । यसमा सभामुख रामचन्द्र मण्डलले तटस्थता नअपनाएको प्रतिपक्षी दलहरूको आरोप छ ।

प्रतिपक्षी दलहरू जसपा नेपाल, नेकपा माओवादी केन्द्र नेकपा एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी पार्टी राप्रपा नेपाल र नागरिक उन्मुक्ति पार्टीले सदन चल्न नदिने रणनीति लिएका छन् ।