मध्यपूर्व द्वन्द्वको प्रभाव नेपाली भान्सामाः मूल्य नबढेको सरकारी दाबी विपरीत खाद्यन्नको भाउ आकासिँदो
इजरायल–अमेरिकाले इरानका विभिन्न रणनीतिक स्थानहरूमा गरेको हवाई आक्रमणपछि सुरु भएको तनावले सामुद्रिक मार्गहरू असुरक्षित बनेका छन् ।
काठमाडौं । मध्यपूर्वमा जारी द्वन्द्वको असर नेपाली भान्सामा पनि देखिन थालेको छ । इरान र इजरायल–अमेरिका द्वन्द्वले विश्वभर नै विभिन्न किसिमको असर पुराइरहेको समयमा त्यसको असर नेपाली भान्सासम्म पनि आइपुगेको हो । खासगरी, दैनिक उपभोग्य वस्तु र खाद्यन्नको मूल्य आकासिँदा यसको प्रत्यक्ष मारमा नेपाली जनता पर्न थालेका छन् ।
इजरायल–अमेरिकाले इरानका विभिन्न रणनीतिक स्थानहरूमा गरेको हवाई आक्रमणपछि सुरु भएको तनावले सामुद्रिक मार्गहरू असुरक्षित बनेका छन् । पछिल्लो पटक इरानले आफ्नो जलक्षेत्र वा हर्मुज जलमार्ग भएर जान खोज्ने जुनसुकै जहाजमाथि आक्रमण गर्ने चेतावनी दिएपछि व्यापारीक मार्ग नै थप अव्यवस्थित बनेको छ ।
विश्वव्यापी सामुद्रिक व्यापार देखिएको हलचलले विश्व अर्थतन्त्रलाई नै गम्भीर मोडमा पु¥याएको छ । यसले ऊर्जा र व्यापारिक सामानको ढुवानी लागतलाई नाटकीय रूपमा बढाइदिएको छ । यहि कारण पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या आउँदा मूल्य वृद्धिको प्रभाव विस्तारै खाद्यान्न बजारसम्म देखिन थालेको हो ।
यकातर्फ आपूर्ति श्रृंखलामा भएको समसया र अर्कोतर्फ उपभोक्ता र व्यापारी दुवैले आवश्यक्ता भन्दा बढी ग्यास र खाद्यन्न भन्डारणको बाटो रोज्दा थप समस्या पैदा भएको छ ।
नेपाल खुद्राव्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यका अनुसार हालसम्म खाद्यान्न आपूर्तिमा ठूलो समस्या देखिएको छैन । उनका अनुसार नेपालमा धेरैजसो खाद्यान्न भारतबाट आयात हुने भएकाले अहिलेसम्म खाद्यान्नमा मूल्य वृद्धिको समस्या खासै देखिएको छैन ।
‘खाने तेलको कच्चापदार्थ र केही तयारी तेल युरोपेली मुलुकहरूबाट आउने हुनाले खाने तेलको मूल्यमा प्रतिलिटर ५० रुपैयाँसम्म वृद्धि भएको छ,’ उनले भने, तर, ढुवानी खर्च बढ्ने बित्तिकै बजारका सबै उपभोग्य वस्तुको मूल्यमाचाप पर्नु स्वभाविक हो ।‘ उनले यस्तो स्थितिमा सरोकारवाला सबै सचेत हुन आवश्यक रहेको बताए ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी माधव मिश्रले पनि हालसम्म खाद्यान्नको मूल्य वृद्धि नगर्ने सरकारी नीति रहेको जानकारी दिए ।
‘हालसम्म आवश्यक खाद्यान्न पर्याप्त मौज्दात छ भने आपूर्तिमा कुनै समस्या छैन । विभिन्न गोदामहरूमा चामल, दाल, चिनी, तेल, घिउ लगायतका वस्तु पर्याप्त रूपमा भण्डारण छ,’ उनले भने, ‘यसर्थ, खाद्यन्नको मूल्य वृद्धि गरीहाल्ने तयारीमा सरकार छैन ।’
यद्यपि, उनको अर्थात् सरकारी दाबी विपरीत बजारमा भने फरक स्थिति देखिएको छ । उपभोक्ताहरूका अनुसार व्यापारीहरूले ‘द्वन्द्वका कारण मूल्य बढेको’ भन्दै तोकिएको दरभन्दा बढी मूल्य लिइरहेका छन् । थानकोटमा किराना पसल सञ्चालन गरिरहेका व्यापारीका अनुसार विश्वमा बढिरहेको द्वन्द्वका कारण खाद्यन्नको मूल्य बढेको जनाए ।
एक उपभोक्ताका अनुसार अघिल्लो पटक २ हजार रुपैँया बोरा किनेको चामल अहिले मूल्य वृद्धि भयो भनेर व्यापारीले २१ सय रुपैया लिएको गुनासो गर्छन् । त्यस्तै, अर्का उपभोक्ताका अनुसार भने पसल अनुसार खाद्यन्नकोे मूल्य फरक फरक रहेको भएपनि केही वृद्धि भएको स्वीकार गर्छन् ।
उनका अनुसार एउटा पसलमा चिनी किलोको १०० रुपैँया रहेको छ भने नजिकैको अर्का पसलमा भने ११० रुपैँया लिने गरेको गुनासो गर्दछन् । एकातर्फ निकायहरु मूल्य नबढाएको दाबी गर्दै आइरहेका छन भने अर्का तर्फ भने व्यारीहरु मनलाग्दी मूल्य निर्धारण गरिरहेका छन् र यसको प्रत्यक्ष असर आम उपभोतmाहरु भोग्न बाध्य भइरहेका छन ।
नेपालमा खुद्रा व्यापार संघले एउटा मूल्यसूची प्रकाशित गर्छ । उक्त संघमा आवद्ध व्यापारीहरुले सोही मूल्यअनुसार खुद्रा सामाग्री बजारमा बिक्री गरेको पाइन्छ । साथै, संघले १५।१५ दिनमा मूल्य निर्धारण गरी मूल्यसूची सार्वजनिक गर्ने गर्छ । संघले पछिल्लो पटक सार्वजनिक गरेको २०८२ चैत १६ गते मूल्यसूचीअनुसार त्रिशूलीको पोखरेली चामल प्रतिकिलो ९० रुपैयाँ तोकिएको छ भने स्टिम जिरा मसिनो चामलको मूल्य ७० रुपैँया, लङग्रेन बासमती चामल १३० रुपैयाँमा पाइने उल्लेख छ ।
स्टिम सोना चामलको मूल्य ६० रुपैयाँ र चिनी ९० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ । यस्तै दालतर्फ, मुंग खोस्टा १७०रुपैयाँ प्रतिकिलो, मुसुर दाल १५० रुपैयाँ प्रतिकिलो मुंग गेडा १७० रुपैयाँ प्रतिकिलो तोकिएको छ ।
त्यस्तै टनइचिन चिउरा १३० रुपैँया प्रतिकिलो, तरार्य ताइचिन चिउरा ७० रुपैँया प्रतिकिलो निर्धारण गरिएको छ । भुटेको तोरीको तेलको मूल्य ३५० रुपैयाँ प्रतिलिटर छ । काँचो तोरीको तेलको मूल्य २४० रुपैयाँ प्रतिलिटर तोकिएको छ भने सनफ्लावर तेल २४० रुपैयाँ प्रतिलिटर रहेको छ । नेपाली घिउको मूल्य ९०० रुपैयाँ प्रतिकिलो तोकिएको छ ।
सरकार र सम्बन्धित निकायहरूले खाद्यान्नको मौज्दात पर्याप्त रहेको र मूल्य नबढाइएको दाबी गरिरहेका छन्, तर बजारमा देखिएको मूल्य असमानता र मनपरी मूल्य निर्धारणले उपभोक्ताहरू प्रत्यक्ष मारमा परेका छन् ।
यदि समयमै बजार अनुगमन कडा बनाइएन र ढुवानी खर्च नियन्त्रणमा राख्न सकिएन भने, मध्यपूर्वको द्वन्द्वको असर अझ गहिरो रूपमा नेपाली अर्थतन्त्र र भान्सामा देखिन सक्छ । त्यसैले अहिलेको अवस्थामा प्रभावकारी अनुगमन, स्पष्ट मूल्य निर्धारण र उपभोक्ता संरक्षण अत्यावश्यक देखिएको छ ।