सार्वजनिक गाडीका यात्रुको गुनासो: 'दैनिक गुजारा कठिन भयो, अब हाम्रो आम्दानीले धान्न सक्दैन'
बढ्दो महँगीबीच यातायात खर्च थप बढेपछि उनीहरूको दैनिक जीवनयापन झन् कठिन बन्दै गएको छ । पहिलेको महँगीले नै जीवनशैली धौधौ हुनेगरेकोमा त्यसमाथि भएको थप वृद्धिले दैनिक जीवन गुजारा गर्न कठिन भएको गुनासो सर्वसाधारणले गर्न थालेका छन् ।
काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेसँगै यसको प्रत्यक्ष असर सर्वसाधारण यात्रुहरूमा परेको छ । विशेषगरी दैनिक रूपमा कार्यालय जाने कर्मचारी, विद्यार्थी तथा मजदुर वर्ग सबैभन्दा बढी प्रभावित भएका छन् । बढ्दो महँगीबीच यातायात खर्च थप बढेपछि उनीहरूको दैनिक जीवनयापन झन् कठिन बन्दै गएको छ । बागमती प्रदेश सरकारले चैत २८ गतेदेखि लागू हुने गरी प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडा औसतमा २५.९६ प्रतिशतले वृद्धि गरेको थियो । नयाँ भाडादर अनुसार अब काठमाडौं उपत्यकाभित्र यात्रा गर्दा न्यूनतम २४ रुपैयाँ तिर्नुपर्ने भएको छ, जुन यसअघि १९ रुपैयाँ थियो ।
नयाँ भाडादर अनुसार ५ किलोमिटरसम्म २४ रुपैयाँ , १० किलोमिटरसम्म ३३ रुपैयाँ, १५ किलोमिटरसम्म ३९ रुपैयाँ, २० किलोमिटरसम्म ४४ रुपैयाँ, २० किलोमिटरभन्दा माथि ५० रुपैयाँ तोकिएको छ । यद्यपि, व्यवहारमा भने तोकिएको दर पूर्ण रूपमा कार्यान्वयन हुँदैन । अर्थात् २४ रुपैयाँ भाडा भए पनि खुला पैसाको बहानामा २५ रुपैयाँ लिने गर्दछन । यात्रुहरूलाई १/२ रुपैयाँ फिर्ता दिने चलन छैन भने यात्रुहरूले सो रकम माग्न हिच्किचाउने गर्छन् ।
यसैबीच वैशाख ३ गतेमात्रै नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघले सवारी साधनको भाडा फेरि समायोजन गरिदिन सरकारसँग माग गरेको छ । महासंघका महासचिव डेकनाथ गौतमले बिहीबार एक विज्ञप्ति सार्वजनिक गर्दै पछिल्लो पटक भाडा समायोजनपछि नै दुई पटक इन्धनमा मूल्यवृद्धि भएको भन्दै फेरि भाडा समायोजन गरिदिन वा मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन् ।
पछिल्लो पटक नै चैत २७ गते र वैशाख २ गते इन्धनमा भएको भन्दै ‘सरकारले २०६५ सालदेखि लागु गरेको वैज्ञानिक विधि अनुरूप स्वचालित प्रणालीबाट पाँच प्रतिशत पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदा हुने भाडा समायोजन गरिदिन वा मूल्य वृद्धि फिर्ता लिन जोडदार माग’ विज्ञप्तिमा गरिएको छ ।
पहिलेको महँगीले नै जीवनशैली धौधौ हुनेगरेकोमा त्यसमाथि भएको थप वृद्धिले दैनिक जीवन गुजारा गर्न कठिन भएको गुनासो सर्वसाधारणले गर्न थालेका छन् ।
"पहिले करिब १०० रुपैयाँ हाराहारी रहेको यातायात खर्च हाल १४० रुपैयाँ पुगिसकेको छ,थानकोटदेखि नारायणटारसम्म दैनिक यात्रा गर्ने एक यात्रुले भनिन्, "अफिसले तलब बढाउँदैन, तर भाडा र महँगी लगातार बढिरहेको छ । यस्तो महँगीलाई कतिन्जेल धान्न सकिएला र । खाद्यान्न, घरबाट, बच्चाबच्चिको विद्यालय शुल्क लगायतका विविध खर्च पुराउन नै कठिन हुने अवस्थामा बढेको थप महँगीले आफू दैनिक गुजारा गर्न कठिन हुँदै गएको उनको भनाइ छ ।
हुन त, यो समस्याले उनलाई मात्रै नभएर हरेक नागरिकलाई चेपुवामा पारेको छ । बौद्धदेखि कीर्तिपुर स्नातकोत्तर अध्ययनका लागि जाने एक विद्यार्थीले पनि भाडा वृद्धिले दैनिक क्याम्पस पढ्न जान नि अत्याएको बताउछिन् । विद्यार्थी कार्डमा ४५ प्रतिशत छुट पाइने भए पनि दैनिक करिब ६० रुपैयाँ खर्च हुनेगरेको उनको गुनासो छ ।
"आम्दानी छैन । यो अवस्थामा दिनहुँ क्याम्पस आउन जान नै गार्हो भइसक्यो," उनी भन्छिन्, "कलेज खर्चदेखि गाडी भाडासम्म परिवाले धान्न कठिन भएको छ ।
मजदुरिका लागि भक्तपुरदेखि विभिन्न स्थानमा पुग्न पर्ने एक यात्रु आम्दानीको ठूलो हिस्सा नै यातायात खर्चमा लाग्ने गरेको गुनासो गर्छन् । "बिहानादेखि बेलुकासम्म काम गर्दा दैनिक ७०० रुपैयाँ कमाई हुन्छ "उनी भन्छन्, "तर, गाडी भाडामा नै दिनमा १०० रुपैयाँदेखि १५० रुपैयाँसम्म खर्च हुन्छ । यस्तो अवस्थामा बचेको पैसाले घर चलाउनु कि बच्चा बच्ची पढाउनु हुन्छ । "उनले गाडीभाडा मात्रै नभएर अन्य सामाग्रीको समेत मूल्य बढ्दा समस्या परेको बताए "।
इन्धनको मूल्य बढेपछि कतिपयले वैकल्पिक रूपमा विद्युतीय सवारी साधन प्रयोग गर्न थालेका छन् । तर, विद्युतीय सवारी साधनको पहुँच सबै क्षेत्रमा छैन र उपलब्धता पनि सीमित छ । झन् सार्वजनिक यातायात त नगन्य मात्रामा छ र भाडा भने उस्ताउस्तै छ । यसले सबै यात्रुहरूलाई विकल्प दिन सकेको छैन ।
यातायात व्यवसायीले नै ‘नेपाल सरकारको स्वामित्व रहेको नेपाल आयल निगमबाट पटक-पटक मूल्यवृद्धिको सट्टा वैकल्पिक व्यवस्था मिलाउनझ माग गर्दै आएका छन् ।
यधपि, यी त केहि प्रतिनिधि घटनाहरू मात्र हुन् । वास्तवमा, दैनिक रूपमा सार्वजनिक सवारी साधन प्रयोग गर्ने अधिकांश यात्रुहरू यस्तै समस्याबाट गुज्रिरहेका छन् । भाडा वृद्धि हुँदा तलब भने स्थिर छ जसले मानिसमा आर्थिक दबाब झन् बढ्दै गएको छ ।
निजि सवारीसाधन भएकाहरुलाई पनि पेट्रोल, डिजेलमा भएको मूल्य वृद्धिले अप्ठ्यारोमा पारेको छ । बजार अनुगमन प्रभावकारी नहुदा खुद्रा व्यापारीले नै कतिपय सामाग्रीको मूल्य बढी लिइरहेका छन् ।
तेलको मूल्य वृद्धि, ग्यास, हवाईभाडा, ढुवानी लागत सबै महँगिएको छ । पानीको मूल्य बढ्ने तयारीमा छ भने ढुवानी लागत बढेर आपूर्ति शृङ्खलामै असर परेको छ । यि सबैको प्रभाव दैनिक खाद्यान्नको मूल्यमा देखिनु पनि कुनै नौलो विषय भएन । मध्यपूर्वको द्वन्द्वलाई बहाना बनाएर बजारमा कतिपय व्यापारीहरूले अचाक्ली भाउ बढाउदा जनताको ढाड सेकिएको छ ।
यस्तो, अवस्थामा सरकार केवल भाडा वा मूल्य वृद्धि गर्न अग्रसर नभई नागरिकलाई मूल्य वृद्धिले समस्यामा पार्न नसक्ने गरि सहुलियतको बाटोमा जान सक्नुपर्छ ।