नेपाल र श्रीलंकाबीच क्रस–बोर्डर मोबाइल भुक्तानी सेवा सुरु
अब श्रीलंका भ्रमण गर्ने नेपालीहरूले कनेक्ट आईपीएस तथा अन्य मोबाइल बैंकिङ एपमार्फत श्रीलंकामा रहेका ४ लाखभन्दा बढी लंका क्यूआर मर्चेन्टमा क्यूआर स्क्यान गरेर सहज रूपमा भुक्तानी गर्न सक्नेछन् ।
काठमाडौ । नेपाल र श्रीलंकाबीच क्रस–बोर्डर मोबाइल भुक्तानी सेवा सुरु भएको छ । अन्तरदेशीय डिजिटल भुक्तानीलाई थप सहज, सुरक्षित र छिटो बनाउन श्रीलंकाको लंकापे र नेपालको नेपाल क्लियरिङ हाउसले संयुक्त रूपमा यो सेवा सञ्चालनमा ल्याएका हुन् ।
श्रीलंकाको कोलम्बोमा आयोजित विशेष कार्यक्रममा उक्त सेवाको औपचारिक घोषणा गरिएको हो । अब श्रीलंका भ्रमण गर्ने नेपालीहरूले कनेक्ट आईपीएस तथा अन्य मोबाइल बैंकिङ एपमार्फत श्रीलंकामा रहेका ४ लाखभन्दा बढी लंका क्यूआर मर्चेन्टमा क्यूआर स्क्यान गरेर सहज रूपमा भुक्तानी गर्न सक्नेछन् ।
नेपाल क्लियरिङ हाउसका अनुसार दक्षिण एसियाली देशहरूबीच डिजिटल भुक्तानीमा क्षेत्रीय अन्तरआबद्धता बढाउने दिशामा यो महत्वपूर्ण कदम हो । यसले दुई देशबीच सुरक्षित, रियल टाइम तथा अन्तरआबद्ध भुक्तानी प्रणालीलाई थप मजबुत बनाउने विश्वास गरिएको छ ।
यो सेवाले विशेषगरी पर्यटक तथा व्यापारिक भ्रमणमा जाने व्यक्तिहरूलाई नगदरहित, सुरक्षित र सहज भुक्तानी सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ । हाल प्रारम्भिक चरणमा यो सेवा लक्ष्मी सनराइज बैंकमार्फत सुरु गरिएको छ। बैंकद्वारा जारी गरिएको डलर कार्डलाई कनेक्ट आईपीएस एपसँग लिंक गरी श्रीलंकामा क्यूआर भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ ।
नेपाल क्लियरिङ हाउसले आगामी दिनमा अन्य मोबाइल बैंकिङ एपहरूमा पनि यो सुविधा विस्तार गरिने जनाएको छ । यसबाट श्रीलंका यात्रा गर्ने नेपालीहरूलाई डिजिटल माध्यमबाट सहज भुक्तानी गर्न थप सुविधा पुग्ने विश्वास गरिएको छ ।