चाडपर्वपछि सेयर बजारमा नयाँ उत्साहको अपेक्षा, लगानी बढाउने आधार के–के ?
घट्दो ब्याजदर र पर्याप्त तरलताले बजारलाई साथ दिने, ७२ भन्दा बढी कम्पनीको लाभांश घोषणाले लगानीकर्तामा उत्साह थप्ने
काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैं, तिहार र छठ सकिएसँगै आजदेखि सेयर बजार नियमित कारोबारमा फर्किँदै छ । लामो चाडपर्व बिदापछि खुल्न लागेको बजारले अब कुन दिशा समात्छ भन्ने विषयमा लगानीकर्ता, विश्लेषक तथा बजारका सरोकारवालाको चासो बढेको छ । चाडपर्वका कारण बजारबाट बाहिरिएको पैसा पुनः लगानीमा फर्किने, बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहने र ब्याजदर घट्दो क्रममा रहेकाले यसपटक बजारले सकारात्मक गति लिन सक्ने अपेक्षा गरिएको छ ।
तिहारपछि कात्तिक २७ गते एक दिनका लागि खुलेको बजारमा भने गिरावट देखिएको थियो । उक्त दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.३२ अंकले घटेको थियो । तर, एक दिनको कारोबारलाई आधार मानेर आगामी बजारको दिशा निर्धारण गर्न नसकिने जानकारहरूको भनाइ छ । अब नियमित कारोबार सुरु भएपछि बजारले कस्तो गति लिन्छ भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ ।
बजारलाई प्रभाव पार्ने विभिन्न सकारात्मक पक्ष देखिएका छन् । विशेषगरी बैंक तथा वित्तीय संस्थाको ब्याजदर घट्दै जानु, बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहनु, कम्पनीहरूको वित्तीय विवरण सार्वजनिक हुने क्रम सुरु हुनु र लाभांश घोषणाले बजारमा नयाँ उत्साह थप्न सक्ने देखिन्छ। त्यसैगरी, सेयर बजारसँग सम्बन्धित नीतिगत सुधार तथा नियामकीय निकायमा नेतृत्व परिवर्तनले पनि बजारप्रति लगानीकर्ताको विश्वास बढाउन सक्ने अपेक्षा गरिएको छ ।
नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदी नियुक्त हुनुलाई पनि बजारको आगामी अवस्थासँग जोडेर हेरिएको छ । अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसमा कात्तिक १७ गते बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । बैंकिङ तथा वित्तीय क्षेत्रमा तीन दशकभन्दा लामो अनुभव हासिल गरेका सुवेदी कृषि विकास बैंकका पूर्वकामु प्रमुख कार्यकारी अधिकृत हुन् । बैंकिङ क्षेत्रको उच्च व्यवस्थापकीय जिम्मेवारीमा रहेर काम गरेका उनी अब मुलुकको एकमात्र धितोपत्र बजार सञ्चालक नेप्सेको नेतृत्वमा पुगेका छन्। उनको नेतृत्वमा बजारको प्राविधिक, संस्थागत तथा व्यवस्थापकीय सुधारले गति लिने अपेक्षा गरिएको छ।
तिहारअघिको पाँच कारोबार दिनमध्ये तीन दिन बजार बढेको थियो भने दुई दिन घटेको थियो। दसैं र तिहारबीच केही दिन बजार खुले पनि लगानीकर्ताको सक्रियता अपेक्षाकृत कम देखिएको थियो। चाडपर्वको समयमा लगानीकर्ताको प्राथमिकता सेयर कारोबारभन्दा घुमघाम, पारिवारिक भेटघाट तथा चाडपर्वको खर्च व्यवस्थापनमा केन्द्रित हुने भएकाले पनि बजारमा अपेक्षित उत्साह नदेखिएको विश्लेषण गरिन्छ ।
अब चाडपर्व सकिएसँगै दैनिक कारोबारमा लगानीकर्ताको सहभागिता बढ्ने र चाडपर्वका लागि बजारबाट बाहिरिएको रकम पुनः सेयर बजारमा प्रवेश गर्ने अपेक्षा गरिएको छ । दसैं-तिहारको व्यापारबाट व्यवसायीले प्राप्त गरेको रकम तथा रेमिट्यान्समार्फत भित्रिएको पैसाको केही हिस्सा पनि सेयर बजारमा लगानी हुन सक्ने सम्भावना छ ।
सेयर विश्लेषक तथा लगानीकर्ता घनश्याम पाण्डे पनि चाडपर्वपछि बजारले सकारात्मक गति लिन सक्ने बताउँछन् । उनका अनुसार विगतका वर्षहरूमा पनि चाडपर्व सकिएपछि सेयर बजार बढ्ने गरेको उदाहरण छ । चाडपर्वका लागि बजारबाट बाहिरिएको रकम क्रमशः लगानीमा फर्किने भएकाले बजारलाई त्यसले सहयोग पुग्न सक्छ । ‘चाडपर्वपछि हरेक वर्ष एकपटक बजार बढेको उदाहरण छ । बजारबाट बाहिरिएको पैसा पनि बिस्तारै फर्केर आउँछ । रेमिट्यान्सबाट आएको पैसा र दसैं-तिहारको व्यापारबाट व्यवसायीले प्राप्त गरेको रकमसमेत सेयर बजारमा लगानी हुने चलन छ,’ पाण्डेले भने ।
उनका अनुसार अहिले बजारका लागि आधारभूत पक्षहरू पनि तुलनात्मक रूपमा सहज बनेका छन् । बैंक तथा वित्तीय संस्थाको ब्याजदर दिनप्रतिदिन घट्दै जानु, बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहनु र अन्य ठूला आर्थिक दबाब नदेखिनुले बजारलाई सकारात्मक दिशामा अघि बढ्न सहयोग पुर्याउन सक्छ । लगानीका अन्य विकल्पबाट प्राप्त हुने प्रतिफलको तुलनामा सेयर बजार आकर्षक देखिन थालेमा पनि लगानीकर्ताको सहभागिता बढ्न सक्ने उनको विश्लेषण छ । बजारलाई गति दिन सक्ने अर्को महत्त्वपूर्ण पक्ष सूचीकृत कम्पनीहरूको वित्तीय विवरण र लाभांश घोषणा हो । चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय प्रगति सार्वजनिक हुने क्रम जारी छ । कम्पनीहरूले आफ्नो नाफा तथा वित्तीय अवस्थाका आधारमा लगानीकर्ताका लागि लाभांश घोषणा गर्न थालेका छन् ।
हालसम्म बैंक तथा वित्तीय संस्था, म्युचुअल फन्डलगायत ७२ भन्दा बढी कम्पनीले लाभांश घोषणा गरिसकेका छन् । अघिल्लो समय समग्र अर्थतन्त्रमा देखिएको सुस्तताका कारण लाभांश वितरण गर्न नसकेका कतिपय कम्पनीले यस वर्ष आफ्नो क्षमताअनुसार लाभांश घोषणा गर्न थालेका छन् । यसले लगानीकर्तालाई कम्पनीहरूको वित्तीय अवस्था मूल्यांकन गरी लगानीसम्बन्धी निर्णय लिन सहज बनाउनेछ ।
विशेषगरी पहिलो त्रैमासको वित्तीय विवरणले कम्पनीहरूको आम्दानी, नाफा, वितरणयोग्य क्षमता र आगामी व्यावसायिक सम्भावनाबारे संकेत गर्ने भएकाले लगानीकर्ताले त्यसलाई आधार बनाएर सेयर छनोट गर्न सक्नेछन । राम्रो वित्तीय अवस्था भएका कम्पनीको सेयरमा माग बढेमा त्यसले समग्र बजारको मनोविज्ञानमा समेत सकारात्मक प्रभाव पार्न सक्छ ।
त्यसैगरी, पछिल्लो समय सेयर बजारसँग सम्बन्धित नीतिगत तथा संरचनागत सुधारका प्रयासले पनि लगानीकर्ताको मनोबल बढाएको छ । बजारमा लामो समयदेखि उठ्दै आएका विभिन्न बाधा तथा अड्चन क्रमशः फुक्दै जानु, नियामकीय निकायमा नेतृत्व परिवर्तन हुनु र बजार सुधारका विषयले प्राथमिकता पाउनुले आगामी दिनमा सकारात्मक वातावरण बन्ने अपेक्षा गरिएको छ ।
समग्रमा हेर्दा चाडपर्वपछि बजारमा फर्किने सम्भावित रकम, घट्दो ब्याजदर, पर्याप्त तरलता, कम्पनीहरूको वित्तीय विवरण तथा लाभांश घोषणा र नीतिगत सुधारले सेयर बजारका लागि सकारात्मक आधार तयार गरेका छन् । यद्यपि, यी आधारले बजार तत्कालै बढ्छ भन्ने सुनिश्चित गर्दैनन् । लगानीकर्ताको मनोविज्ञान, कम्पनीहरूको वास्तविक वित्तीय अवस्था, कारोबार रकम र बजारमा आउने माग तथा आपूर्तिले आगामी दिशा निर्धारण गर्नेछ ।