बजेटको प्रतिक्षामा सेयर बजारः लगानीकर्तामा आशा र अन्योलको मिश्रित मनोविज्ञान
के भन्छन् लगानीकर्ता?
काठमाडौं । संघीय सरकारको आगामी आर्थिक वर्षको वार्षिक बजेट सार्वजनिक हुन अब केही दिन मात्र बाँकी छ । बजेट भाषण अगाडि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अब तीन कारोबार दिन खुल्ने हुदा लगानीकर्ता, विश्लेषक र बजारका जानकारहरूबीच आगामी दिशालाई लिएर विभिन्न अनुमान र विश्लेषणहरू भइरहेका छन् ।
करिब दुई तिहाई मत सहितको बलियो एकल सरकार भएपनि बजार भने अपेक्षा गरेअनुरुप अघि बढ्न सकिरहेको छैन । यद्यपि, गत शुक्रबार भने बजार परिसूचक नेप्से १६.३८ अंकले बढेको थियो र यस सुधारलाई धेरैले बजेटपूर्वको सकारात्मक मनोवैज्ञानिक प्रभावका रूपमा व्याख्या गरेका छन् । बजार विश्लेषकहरूका अनुसार बजेटमा पुँजीबजारमैत्री नीति, करसम्बन्धी सुधार र लगानी प्रोत्साहनका कार्यक्रम आउने संकेत मिलेमा आगामी तीन कारोबार दिनमा बजार थप हरियो बन्न सक्ने सम्भावना छ ।
विगतका तथ्यांकले पनि बजेटअघि बजार सकारात्मक हुने प्रवृत्ति देखाउँछन् । आर्थिक वर्ष २०८२ को बजेटअघि अन्तिम कारोबार दिन नेप्से सूचक १४.४४ अंकले बढेर २६९३.०३ विन्दुमा पुगेको थियो । त्यस्तै २०८१ को बजेटअघि पनि नेप्से ३.९३ अंकले बढेर २११३ दशमलव २७ विन्दुमा पुगेको थियो । यसले बजेटअघिको बजार मनोविज्ञान प्रायः सकारात्मक रहने संकेत गर्छ ।
बजार विश्लेषक केशव कोइरालाका अनुसार अहिले बजारमा ठूलो उछाल आउने अवस्था नरहे पनि बजेटसँग सम्बन्धित सकारात्मक संकेतले छोटो अवधिमा बजार बढ्न सक्छ । उनका अनुसार बजेटमा पुँजीबजारलाई सहयोग पुग्ने खालका कार्यक्रम आउने चर्चा फैलिनासाथ बजारमा खरिदकर्ता सक्रिय हुन सक्छन् । “बजेटमा केही राम्रा कुराहरू आउँदैछन् भन्ने सूचना बजारमा फैलियो भने दुई–तीन दिन बजार बढ्न सक्छ,” उनले भने ।
तर, कोइरालाले अहिले बजारमा पर्याप्त लगानीयोग्य रकमको अभाव रहेको भन्दै ठूलो वृद्धि सम्भावना नरहेको बताए । उनका अनुसार बजारमा अत्यधिक आपूर्ति र लगानीकर्ता पलायनका कारण बजार दबाबमा छ । “बजारमा पैसा छैन । पैसा पलायन भएको छ र अत्यधिक आपूर्तिले बजार थिचिएको अवस्था छ,” उनले भने, “त्यसैले बजार धेरै माथि जाने अवस्था छैन, तर केही सुधार भने हुन सक्छ ।”
सेयर लगानिकर्ता देव गुरागाईं भने लगानीकर्ताको आशाले बजारलाई केही सकारात्मक दिशामा जान सक्ने बताउँछन् । उनका अनुसार लगानीकर्ताले बजेटबाट सुधारमुखी नीति आउने अपेक्षा गरिरहेका छन् । “बजारले बजेटबाट केही अपेक्षा गरेको छ । आशा बढेसँगै खरिदकर्ताको चाप बढ्न सक्छ र त्यसले बजार हरियो बन्ने सम्भावना रहन्छ,” उनले भने । गुरागाईंका अनुसार बजेटमा के आउने भन्ने स्पष्ट भइसकेको छैन । तर सरकारले सुधारका विषय उठाइरहेको र पूँजीबजारलाई सम्बोधन गर्ने संकेत देखिएकाले लगानीकर्तामा सकारात्मक मनोविज्ञान बनेको छ । “यदि बजारले अपेक्षा गरेअनुसारका विषय बजेटमा समेटिए भने त्यसले बजारलाई थप सहयोग पुग्न सक्छ,” उनले भने ।
सेयर बजारका जानकार दीपक कार्की भने लगानीकर्ता अहिले ‘पर्ख र हेर’ को अवस्थामा रहेको बताउँछन् । उनका अनुसार लगानीकर्ताले बजेटमार्फत पूँजीबजारलाई दीर्घकालीन स्थायित्व दिने नीति आउने अपेक्षा गरेका छन् । कार्कीका अनुसार पूँजीगत लाभकरलाई अन्तिम करको मान्यता दिनुपर्ने माग लामो समयदेखि उठ्दै आएको छ । सरकारले त्यस विषयमा गम्भीर निर्णय लिने आशा लगानीकर्ताले गरेका छन् । “लगानीकर्ताले पूँजीगत लाभकरलाई अन्तिम कर मानिनुपर्छ भन्ने आवाज धेरै पहिलेदेखि उठाइरहेका छन्,” उनले भने, “सरकारले यस विषयलाई गम्भीरतापूर्वक हेर्छ भन्ने अपेक्षा बजारमा छ ।” उनले नयाँ सरकार बनेपछि पनि अर्थतन्त्र र पूँजीबजारप्रति विश्वास बढ्ने वातावरण निर्माण हुन नसकेको उल्लेख गरे । “यदि अर्थतन्त्र र पूँजीबजारप्रति आत्मबल बढ्ने खालको विश्वासिलो वातावरण बनेन भने बजारले खासै गति लिन सक्दैन,” उनले भने । कार्कीले पछिल्लो समय उठिरहेका भित्री कारोबारसम्बन्धी विषयमा सरकारले निष्पक्ष अनुसन्धान गर्नुपर्ने बताए । उनका अनुसार गैरकानुनी गतिविधि भए दोषीलाई कारबाही हुनुपर्छ, तर अनुसन्धानका विषयलाई अनावश्यक रूपमा सार्वजनिक गर्दै बजारमा त्रास फैलाउनु उचित नहुने उनको भनाइ छ ।
उता, पुँजीबजार विश्लेषक तुलसीराम ढकाल भने बजार अहिले न्यून विन्दुमा पुगेकाले स्वाभाविक सुधारको चरण सुरु भएको बताउँछन् । उनका अनुसार बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य रकम, घट्दो ब्याजदर र अन्य क्षेत्रमा लगानीको आकर्षण कम भएकाले पूँजीबजारतर्फ लगानीकर्ता फर्किन सक्ने अवस्था बनेको छ । “बैंकमा प्रशस्त पैसा छ । ब्याजदर कम छ । अहिले राम्रा कम्पनीमा लगानी गर्दा प्रतिफलको सम्भावना राम्रो देखिन्छ,” उनले भने । ढकालले बहुमतको सरकार भएकाले दीर्घकालीन नीतिगत स्थायित्वको सम्भावना बढेको र त्यसले पूँजीबजारलाई सकारात्मक प्रभाव पार्न सक्ने बताए । उनका अनुसार बजेटमार्फत पूँजीबजारसम्बन्धी सुधारमुखी नीति ल्याइए बजारले थप गति लिन सक्छ । “बजार अहिले निकै तलको स्तरमा छ । त्यसैले बजेटपछि पनि सुधारको सम्भावना देखिन्छ,” उनले भने ।
यद्यपि, बजारको दिशा अन्ततः बजेटले पूँजीबजारलाई कति प्राथमिकता दिन्छ भन्ने कुराले निर्धारण गर्ने देखिन्छ । लगानीकर्ताहरू अहिले सरकारको नीति, करसम्बन्धी व्यवस्था, पुँजीबजारप्रतिको दृष्टिकोण र लगानीमैत्री वातावरण निर्माण हुने अपेक्षामा छन् ।
यदि सरकारले लगानीकर्ताको मनोबल उच्च बनाउने गरी कर नीतिमा सुधार गर्ने, नीतिगत स्थायित्व दिने र बजारमैत्री बजेट ल्याउने हो भने आगामी दिनहरूमा नेपालको सेयर बजारले फेरि नयाँ उचाइ समात्ने अपेक्षा गर्न सकिन्छ । आगामी तीन कारोबार दिनले बजेटअघिको मनोविज्ञान कस्तो रहन्छ भन्ने कुराको प्रारम्भिक संकेत अवश्य दिनेछ । अब बाँकी रहेका तीन कारोबार दिन र त्यसपछि आउने बजेटले नेपाली पुजीबजारको आगामी दिशा तय गर्ने संकेत धेरैले गरेका छन् ।