प्रधानमन्त्री बालेनको सोझो टिप्पणी: अहिले देशलाई आत्मविश्वास होइन, पैसा चाहिएको छ; ध्यान आम्दानी बढाउनेमा छ

"अहिले देशमा आत्मविश्वास बढाउने भन्दा पनि देशलाई पैसा चाहिएको छ, हाम्रो ध्यान पैसा बढाउनेतिर गएको छ," प्रधानमन्त्री शाहले भने ।

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले वर्तमान सरकारको मुख्य ध्यान देशको आम्दानी बढाउने र आन्तरिक उत्पादनलाई निर्यातमुखी बनाउनेमा केन्द्रित रहेको बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा उनले अहिलेको अवस्थामा देशलाई केवल सैद्धान्तिक आत्मविश्वासको कुराले मात्र नपुग्ने भन्दै ठोस आर्थिक उपार्जनको टड्कारो आवश्यकता रहेको उल्लेख गरे । "अहिले देशमा आत्मविश्वास बढाउने भन्दा पनि देशलाई पैसा चाहिएको छ, हाम्रो ध्यान पैसा बढाउनेतिर गएको छ," प्रधानमन्त्री शाहले भने ।

बैठकमा विपक्षी दल नेकपाका सांसद प्रमेश हमालले नेपाललाई विकासशील देशका रूपमा स्तरोन्नति गर्नेबारे सरकारको धारणा मागेका थिए । जवाफका क्रममा प्रधानमन्त्री शाहले राजनीतिक विचारधारा र व्यावहारिक कार्यान्वयनबीच ठूलो खाडल रहेको टिप्पणी गर्दै समाजवाद र साम्यवादका कुरा भाषण गर्नका लागि आकर्षक भए पनि व्यवहारमा उतार्न चुनौतीपूर्ण रहेको बताए । उनले गरिब विपन्नको कुरामा साम्यवाद र समाजवाद भाषण दिन मजा हुने तर व्यवहारमा कठिन हुने उल्लेख गरे । आफ्नो कार्यशैलीको बचाउ गर्दै प्रधानमन्त्री शाहले आफू काठमाडौँ महानगरपालिकाको मेयर हुँदा भाषणमा भन्दा काममा जोड दिएकै कारण विपन्न परिवारका विद्यार्थीका लागि १० प्रतिशत निःशुल्क शिक्षाको व्यवस्था पूर्ण रूपमा कार्यान्वयन गराएको समेत स्मरण गरे ।