बीमा प्राधिकरणको अध्यक्ष बन्न ५० जनाले दिए आवेदन
काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा अन्तिम दिन आज अपरान्हसम्म ५० जनाले आवेदन दर्ता गराएका छन् । उनीहरूले इच्छुक अर्थ मन्त्रालयमा पुगेर आवेदन दर्ता गराएका हुन् ।
आवेदन दिन नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर बम बहादुर मिश्र आफैँ अर्थ मन्त्रालयमा पुगेका थिए । त्यस्तै, बीमाविज्ञ रविन्द्र घिमिरे, नेपाल पुनर्बीमा कम्पनीका पूर्वसिईओ शंकर कुमार रायमाझी, नेपाल बीमा प्राधिकरणका निर्देशक कमलराज रेग्मीलगायत रहेका छन् ।
त्यसैगरी, नेपाल राष्ट्र बैंकका केही कार्यकारी निर्देशकहरु र उपनिर्देशकले समेत उम्मेदवारी दर्ता गराएका छन् । स्वास्थ्य बीमा बोर्डका पूर्व कार्यकारी निर्देशक डा. दामोदर बसौला, बीमा क्षेत्रमा लामो समय काम गरेका युनाईटेड इन्स्योरेन्स कम्पनीका पूर्वकामु सिईओ रमेश कुमार भट्टराई समेतले उम्मेदवारी दर्ता गराएका छन् ।
प्राधिकरणको अध्यक्ष पदमा नियुक्तिको लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले आज सूचना जारी गर्दै योग्य नेपाली नागरिकलाई ७ दिन (जेठ १९ गते) भित्र आवेदन दिन भनेको थियो । समितिले आज जेठ १३ गते सूचना प्रकाशित गरी दरखास्त आह्वान गरेको थियो।