नागढुंगा सुरुङमार्गका लागि जापानले थप साढे ५ अर्ब रुपैयाँ ऋण दिने
आयोजना सम्पन्न गर्न अपुग भएको ५ अर्ब ७० करोड जापानी येन (करिब ५ अर्ब ५० करोड नेपाली रुपैयाँ) बराबरको थप ऋण प्रदान गर्ने निर्णय जापान सरकारले गरेको हो ।
काठमाडौँ । जापानले नागढुंगा सुरुङ निर्माण परियोजनाको लागि नेपाललाई थप थप ऋण सहयोग उपलब्ध गराउने भएको छ । आयोजना सम्पन्न गर्न अपुग भएको ५ अर्ब ७० करोड जापानी येन (करिब ५ अर्ब ५० करोड नेपाली रुपैयाँ) बराबरको थप ऋण प्रदान गर्ने निर्णय जापान सरकारले गरेको हो । अर्थ मन्त्रालयमा बुधबार आयोजित एक कार्यक्रमबीच थप ऋण सहायता उपलब्ध गराउने सम्बन्धी सम्झौतापत्रमा नेपाल र जापानका अधिकारीले हस्ताक्षर गरेका हुन् । सम्झौतापत्रमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र नेपालका लागि जापानका राजदूत मैदा तोरुले हस्ताक्षर गरेका थिए ।
यसअघि सन् २०१६ डिसेम्बरमा यस आयोजनाका लागि १६ अर्ब ६३ करोड ६० लाख येन ऋण सहयोगसम्बन्धी सम्झौता भएको थियो । तर, पछिल्लो समय बढ्दो मूल्य वृद्धि र अन्य प्राविधिक कारणले लागत बढ्न गई बजेट अभाव भएपछि जापानले थप सहयोग गरेको हो। यससँगै यस आयोजनाका लागि जापानको कुल ऋण सहयोग २२ अर्ब ३३ करोड ६० लाख येन पुगेको दूतावासले जनाएको छ । सन् २०१९ देखि निर्माण सुरु भएको यो सुरुङमार्ग यसै वर्षदेखि सञ्चालनमा आउने तयारीमा छ ।