आजदेखि फिफा विश्वकप २०२६ सुरु, ४८ राष्ट्र उपाधि दौडमा
यो विश्वकपमा ४८ राष्ट्रले सहभागिता जनाएका छन् । जुलाई १९ सम्म सञ्चालन हुने प्रतियोगितामा कुल १०४ खेल खेलाइनेछन् ।
काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप २०२६ आजदेखि सुरु हुँदै छ । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरेको यो प्रतियोगितालाई विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करण मानिएको छ ।
यो विश्वकपमा ४८ राष्ट्रले सहभागिता जनाएका छन् । जुलाई १९ सम्म सञ्चालन हुने प्रतियोगितामा कुल १०४ खेल खेलाइनेछन् । यस विश्वकपमा साविक विजेता अर्जेन्टिनासँगै ब्राजिल, फ्रान्स, जर्मनीजस्ता बलिया टोलीहरू उपाधिका प्रमुख दाबेदार मानिएका छन् । उद्घाटन खेलमा मेक्सिकोको प्रसिद्ध ‘एस्टाडियो एज्टेका’ रंगशालामा घरेलु टिम र दक्षिण अफ्रिका खेल्नेछन् । नेपाली समयअनुसार यो खेल मध्यराति १२ स् ४५ बजे सुरु हुनेछ ।
विश्वभरका फुटबल समर्थक अहिले आफूलाई मनपर्ने फुटबल टिमको जर्सी लगाएर फुटबल महाकुम्भमा होमिएका छन् ।यसपटक विश्वको कुल जनसंख्यामध्ये ५८ प्रतिशतले विश्वकप हेर्ने अनुमान गरिएको छ ।
१९ जुलाईमा अमेरिकाको न्युयोर्कमा हुने फाइनल खेलपछि विश्वकप समापन हुनेछ । पहिलो भव्य ओपनिङ सेरेमनी म्याक्सिको सिटीमा आज राति हुदैछ । यो ऐतिहासिक उद्घाटन समारोह म्याक्सिको र दक्षिण अफ्रिकाबीचको पहिलो खेल सुरु हुनभन्दा करिब ९० मिनेट अगाडि सुरु हुने तालिका रहेको छ । नेपाली दर्शकहरूका लागि यो विशेष कार्यक्रम नेपाली समयअनुसार आज राती ११ बजेर १५ मिनेट जाँदा सुरु हुनेछ । फिफाले सार्वजनिक गरे अनुसार म्याक्सिको सिटी स्टेडियममा आयोजना हुने यो उद्घाटन समारोह करिब १६ मिनेट चल्नेछ र त्यसलगत्तै विश्वकपको पहिलो खेल सुरु हुनेछ ।