फेसबुक, टिकटकमार्फत व्यापार गर्नेलाई सूचीकृत हुन सरकारको निर्देशन, नभए कारबाही हुने
विभागले सूचनाको बेवास्ता गरी सूचीकृत नभएका वा गैरकानुनी विद्युतीय प्लेटफर्ममार्फत व्यवसाय सञ्चालन गरेको भेटिएमा ई–कमर्स ऐन, २०८१ तथा अन्य प्रचलित कानुनबमोजिम कारबाही गर्ने स्पष्ट पारेको छ ।
काठमाडौं । फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जाल तथा विभिन्न एप र वेबसाइटमार्फत व्यापार व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरू अब अनिवार्य रूपमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा सूचीकृत हुनुपर्ने भएको छ ।
विभागले जरुरी सूचना जारी गर्दै प्रचलित कानुनअनुसार सूचीकृत नभई ई–कमर्स व्यवसाय सञ्चालन गरेको पाइएमा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ ।
विभागका अनुसार वेबसाइट, मोबाइल एप, सफ्टवेयर, इन्टरनेट, इन्ट्रानेट वा सामाजिक सञ्जालको ‘मार्केटप्लेस’ प्रयोग गरी वस्तु वा सेवा बिक्री गर्ने सबै व्यवसायी ई–कमर्सको दायरामा पर्छन् । वस्तु बिक्री गर्ने व्यवसायी मात्र नभई विद्युत्, खानेपानी, टेलिफोन, सूचना प्रविधि, स्वास्थ्य, शिक्षा, परामर्श, ढुवानी, पर्यटन, मनोरञ्जन, यातायात, बैंकिङ, बिमा तथा कानुनी र इन्जिनियरिङ सेवा प्रदान गर्नेहरू पनि यसमा समेटिन्छन् ।
पछिल्लो समय अनलाइन माध्यमबाट हुने कारोबारमा उपभोक्तालाई भ्रममा पार्ने, ठगी गर्ने तथा गुणस्तरहीन वस्तु तथा सेवा बिक्री गर्ने गुनासो बढ्दै गएपछि विभागले यस्तो व्यवस्था कडाइका साथ लागू गर्न लागेको जनाएको छ ।
विभागले सूचनाको बेवास्ता गरी सूचीकृत नभएका वा गैरकानुनी विद्युतीय प्लेटफर्ममार्फत व्यवसाय सञ्चालन गरेको भेटिएमा ई–कमर्स ऐन, २०८१ तथा अन्य प्रचलित कानुनबमोजिम कारबाही गर्ने स्पष्ट पारेको छ ।
त्यस्तै, विभागले उपभोक्तालाई पनि अनलाइनबाट वस्तु वा सेवा खरिद गर्दा आधिकारिक तथा सूचीकृत पोर्टलबाट मात्र कारोबार गर्न आग्रह गरेको छ ।
