‘कठिन परिस्थितिमा प्रहरीले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय’

विज्ञापन
ncell

उनले समाजमा शान्ति सुरक्षा र अमनचयन कायम गर्ने, अपराध नियन्त्रण तथा अनुसन्धान गर्ने तथा कानुन कार्यान्वयन गर्ने प्रहरीको मुख्य जिम्मेवारी रहेको बताए ।

काठमाडौं । गृहसचिव केदारनाथ शर्माले कठिन परिस्थितिमा नेपाल प्रहरीले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहेको बताएका छन् । गृहसचिव शर्माले आज प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्दै जस्तोसुकै कठिन परिस्थिति र चुनौतीका बाबजुत अग्रपङ्क्तिमा रहेर नेपाल प्रहरीले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहेको बताएका हुन् । उनले समाजमा शान्ति सुरक्षा र अमनचयन कायम गर्ने, अपराध नियन्त्रण तथा अनुसन्धान गर्ने तथा कानुन कार्यान्वयन गर्ने प्रहरीको मुख्य जिम्मेवारी रहेको बताए । सीमित स्रोतसाधनका बाबजुत प्रहरीले उल्लेखनीय काम गर्दै आएको उनको भनाइ थियो ।

गृहसचिव शर्माले प्रहरी नागरिकसँग सबैभन्दा नजिक रहेर काम गर्ने सुरक्षा निकाय भएकाले नागरिकका अपेक्षा सम्बोधन गर्दै आफ्नो जिम्मेवारी पूरा गर्न सदैव अग्रसर हुनुपर्ने उल्लेख गरे । ऐन तथा कानुनले तोकेको जिम्मेवारी पूरा गर्न थप सजग, सचेत, इमानदार र कर्तव्यनिष्ठ भएर काम गर्न उनले प्रहरी कर्मचारीलाई निर्देशन दिए ।

कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीले आफ्नो काम, कर्तव्य र जिम्मेवारी अनुशासन, इमानदारी र निष्ठापूर्वक निर्वाह गर्दै आएको बताए ।

उनले विगतको जेनजी आन्दोलन तथा विनाशकारी बाढीमा ज्यान गुमाएका अमर प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भोटेकोशी बाढीमा बेपत्ता प्रहरी कर्मचारीको खोजी तथा अवस्था पहिचानका लागि प्रहरीका विभिन्न संयन्त्र परिचालन गरिएको जानकारी दिए । विपद् प्रतिकार्य, खोज तथा उद्धारमा अग्रपङ्क्तिमा खटिने नेपाल प्रहरीसँग स्रोतसाधनको अभाव रहेको उनको भनाइ थियो ।

महानिरीक्षक कार्कीले तत्काल घटनास्थलमा पुगेर नागरिकको जीउधनको सुरक्षा तथा उद्धार गर्न प्रहरीलाई समयसापेक्ष प्रविधि र स्रोतसाधनयुक्त बनाउन गृह मन्त्रालयको अभिभावकीय भूमिका आवश्यक रहेको बताए । उनले विश्वव्यापी अपराधका चुनौती र जोखिम न्यूनीकरणका लागि प्रविधिको विकास, प्रहरीको क्षमता अभिवृद्धि तथा पूर्वाधार विकासमा गृह मन्त्रालयको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । आगामी दिनमा पनि सङ्गठनलाई थप व्यावसायिक र मर्यादित बनाउन मन्त्रालयको सहयोग निरन्तर रहने विश्वास उनले व्यक्त गरे ।

सोही अवसरमा गृहसचिव शर्माले नेपाल प्रहरी विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र, डिजिटल फरेन्सिक ल्याब र डाटा सेन्टरको अवलोकन गरी त्यहाँबाट भइरहेका गतिविधिबारे जानकारी लिएका थिए । कार्यक्रममा गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव, प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरूको उपस्थिति थियो । सातै प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूले भर्चुअल माध्यमबाट कार्यक्रममा सहभागिता जनाएका थिए ।