साउनमा निर्जीवन बीमा कम्पनीको ५४ करोडको व्यापार, हिमालयन एभरेष्ट सबैभन्दा अगाडि
समीक्षा अवधिमा १४ वटा परम्परागत निर्जीवन बीमा कम्पनी र चारवटा लघु निर्जीवन बीमा कम्पनीले गरी २ लाख ५४ हजार ६०७ वटा बीमालेख जारी गरेका छन्।
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा निर्जीवन बीमा कम्पनीहरूले ५४ करोड १ लाख ५२ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १८ वटा निर्जीवन बीमा कम्पनीले उक्त व्यवसाय गरेका हुन् । समीक्षा अवधिमा १४ वटा परम्परागत निर्जीवन बीमा कम्पनी र चारवटा लघु निर्जीवन बीमा कम्पनीले गरी २ लाख ५४ हजार ६०७ वटा बीमालेख जारी गरेका छन्।
परम्परागत निर्जीवन बीमा कम्पनीहरूले २ लाख २९ हजार ५९९ वटा बीमालेखमार्फत ५३ करोड २८ लाख ३८ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। यस्तै, चारवटा लघु निर्जीवन बीमा कम्पनीले २५ हजार ८ वटा बीमालेख जारी गर्दै ७३ लाख १४ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।
कम्पनीगत रूपमा साउनमा हिमालयन एभरेष्ट इन्स्योरेन्स सबैभन्दा अगाडि देखिएको छ। कम्पनीले एक महिनामै २७ हजार ८७१ वटा बीमालेख जारी गर्दै ५ करोड ६२ लाख ५१ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
दोस्रो स्थानमा रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सले २२ हजार ९६४ वटा बीमालेखबाट ५ करोड ५३ लाख २६ हजार रुपैयाँ व्यवसाय गरेको छ । एनएलजी इन्स्योरेन्स ५ करोड ३४ लाख ६७ हजार रुपैयाँ बीमाशुल्कसहित तेस्रो स्थानमा छ । कम्पनीले साउनमा १९ हजार ७५६ वटा बीमालेख जारी गरेको छ।
त्यस्तै, शिखर इन्स्योरेन्सले ५ करोड १२ लाख २ हजार रुपैयाँ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ४ करोड ६७ लाख ६५ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।
आइजिआई प्रूडेन्सियल इन्स्योरेन्सले ४ करोड ४७ लाख १३ हजार रुपैयाँ तथा दि ओरिएन्टल इन्स्योरेन्सले ४ करोड ४३ लाख ७० हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।
नेको इन्स्योरेन्सले ३ करोड ८० लाख ८५ हजार रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले ३ करोड ३२ लाख ३४ हजार रुपैयाँ र नेशनल इन्स्योरेन्सले २ करोड ७० लाख २३ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । नेपाल इन्स्योरेन्सले २ करोड ५२ लाख ७६ हजार रुपैयाँ तथा सानिमा जिआईसी इन्स्योरेन्सले २ करोड ४० लाख ३१ हजार रुपैयाँ व्यवसाय गरेका छन् ।
सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले साउनमा १ करोड ९० लाख २२ हजार रुपैयाँ बीमाशुल्क संकलन गर्दा प्रभु इन्स्योरेन्सले १ करोड ४० लाख ६८ हजार रुपैयाँ व्यवसाय गरेको छ ।
