चण्डिका डिस्टिलरीको व्यापार ६४ प्रतिशतले बढ्यो, डेढ अर्बमा नयाँ कारखाना बन्दै

विज्ञापन
ncell

चण्डिका डिस्टिलरी प्रालिको व्यापार ६४.४० प्रतिशतले वृद्धि भएको छ । सन् २०२५ मा २३ करोड ५० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२६ मा ३८ करोड ४० लाख रुपैयाँको कारोबार गरेको हो ।

काठमाडौं । चण्डिका डिस्टिलरी प्रालिको व्यापार ६४.४० प्रतिशतले वृद्धि भएको छ । सन् २०२५ मा २३ करोड ५० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२६ मा ३८ करोड ४० लाख रुपैयाँको कारोबार गरेको हो ।

कम्पनीको व्यापार पछिल्ला वर्षमा उतारचढावपूर्ण देखिन्छ । कम्पनीले सन् २०२४ मा २९ करोड २० लाख रुपैयाँ, २०२३ मा २० करोड ९० लाख रुपैयाँ, २०२२ मा १८ करोड १० लाख रुपैयाँ र २०२१ मा ३३ करोड रुपैयाँको व्यापार गरेको थियो ।

सन् १९९९ मा स्थापना भएको चण्डिका डिस्टिलरीले ४० यूपी, ५० यूपी र ७० यूपीका मदिरा उत्पादन गर्दै आएको छ । कम्पनीले ‘पासपोर्ट’ र ‘ब्ल्याक ज्याक’ ब्रान्डको ह्विस्की तथा ‘पास पास’ ब्रान्डका मदिरा बजारमा बिक्री गर्दै आएको छ ।

कम्पनीको वार्षिक बोटलिङ क्षमता १ करोड ८४ लाख लिटर रहेको छ । कम्पनीमा रवि केसीको ४० प्रतिशत, अभिषेक श्रेष्ठको २५ प्रतिशत, श्रद्धा केसीको १९ प्रतिशत र अवन्तिका केसीको १६ प्रतिशत स्वामित्व रहेको छ । कम्पनीको अध्यक्षमा रवि केसी रहेका छन् ।

चण्डिका डिस्टिलरीका अधिकांश प्रवर्द्धक यति डिस्टिलरी प्रालि र याक ब्रुइङ प्रालिसँग समेत आबद्ध छन् । यसले कम्पनीका प्रवर्द्धकहरू डिस्टिलेसन, ब्लेन्डिङ तथा ब्रुअरी व्यवसायमा समेत संलग्न रहेको देखाउँछ ।

प्रवर्द्धकहरूले पछिल्लो पाँच वर्षमा यति डिस्टिलरीबाट वार्षिक औसत ६८ करोड ८० लाख रुपैयाँ लाभांश प्राप्त गरेका छन् । यस्तै, चण्डिका डिस्टिलरीले यति डिस्टिलरीलाई तोकिएको परिमाणमा एक्स्ट्रा न्यूट्रल अल्कोहल (ईएनए) आपूर्ति गर्न ६ वर्षको सम्झौता गरेको छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कुल २ अर्ब १ करोड रुपैयाँको रेटिङ गराएको छ । जसमा १ अर्ब रुपैयाँको दीर्घकालीन कर्जाका लागि ‘एलएलबी’ रेटिङ र १ अर्ब १ करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि ‘ए फोर प्लस’ रेटिङ प्राप्त गरेको छ ।

कम्पनीले १ अर्ब ५२ करोड ५० लाख रुपैयाँको लागतमा नयाँ प्लान्ट निर्माण गरिरहेको छ । नयाँ प्लान्ट सञ्चालनमा आएपछि कम्पनीको उत्पादन क्षमता ४९ प्रतिशतले वृद्धि भई वार्षिक २ करोड ७४ लाख लिटर पुग्ने अनुमान गरिएको छ ।

कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्ममा नयाँ प्लान्ट निर्माणमा ७५ प्रतिशत वित्तीय प्रगति हासिल गरिसकेको छ । कम्पनीले सुरुमा सन् २०२६ को जनवरीसम्ममा प्लान्ट सञ्चालनमा ल्याउने योजना बनाएको थियो । तर, निर्माण कार्यमा ढिलाइ भएपछि सञ्चालनको लक्ष्य सन् २०२७ को जनवरीसम्मका लागि सारिएको छ ।

कम्पनीको वित्तीय अवस्थासमेत सुधारिएको देखिएको छ । सन् २०२५ मा ९.८ गुणा रहेको कुल बाह्य दायित्व र ट्यान्जिबल नेटवर्थको अनुपात गत आर्थिक वर्षमा घटेर ५.१ गुणामा आएको छ । त्यस्तै, कम्पनीको ऋण सेवा कभरेज अनुपात १.१ गुणा रहेको छ ।