असोज पहिलो सातादेखि पोखरा–दुबई सिधा उडान

विज्ञापन
ncell

दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज ७ (सेप्टेम्बर २३) को साँझ ६:१५ बजे पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यतालिका सार्वजनिक भएको छ ।

 गण्डकी । दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज ७ (सेप्टेम्बर २३) को साँझ ६:१५ बजे पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यतालिका सार्वजनिक भएको छ ।

त्यस उपलक्ष्यमा नेपालको पर्यटकीय नगरी पोखरा विमानस्थलमा पानीको फोहरासहित फ्लाई दुबईको जहाज र यात्रुलाई स्वागत गरिनेछ ।  त्यहाँबाट आएका यात्रुको अवतरणपछि उक्त विमान पोखराबाट यात्रु लिएर साँझ ७:१५ बजे दुबईका लागि उड्नेछ । फ्लाइ दुबईको एयर बस ३१९/३२० ले पोखरा–दुबई उडान गर्ने विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले बताए ।

एयर बस ३१९ मा १४० देखि १५० सम्म र एयर बस ३२० मा १६० देखि १८० सम्म यात्रु क्षमता रहेको उनको भनाइ छ । ‘फ्लाइ दुबईले आवश्यकताअनुसार पोखराका लागि एयर बस ३१९ र ३२० आलोपालो गरी उडाउँछ’, सूचना अधिकारी रावतले भने, ‘पहिलो उडानमा पोखरा आउने यात्रुको सङ्ख्या उल्लेख्य छ, पोखरादेखि दुबई फर्कदा जहाजले यात्रुसहित कार्गो लिएर जानेछ ।’उनले फ्लाइ दुबईको हरेक दिन साँझ ६:१५ बजे पोखरा अवतरण र ७:१५ बजे पोखरादेखि दुबईका लागि प्रस्थानको तालिका रहेको जानकारी दिए । पहिलो दिन निर्धारित समयभन्दा केही समयअघि जहाज अवतरण हुनसक्ने सूचना अधिकारी रावतले बताए । दुबई–पोखरा–दुबई नियमित उडानका लागि तालिका सार्वजनिक भएदेखि नै विमानस्थलले आवश्यक तयारी अगाडि बढाएको छ ।

दुबई–पोखरा–दुबई उडानका लागि गत जेठ २५ गते नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाइ दुबईलाई अनुमति दिएको थियो । सरकारले चालु आवको नीति तथा कार्यक्रममा पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाइ दुबईले उडान अनुमति पाएको थियो ।

विश्वव्यापी हवाई ट्रान्जिट हब दुबईसम्मको सिधा उडानले पोखरालाई अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोड्ने जनाइएको छ । सञ्चालनमा आएको तीन वर्ष बितिसक्दासमेत पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्तरदेशीय उडान हुन सकेको थिएन । फ्लाइ दुबईका नेपालस्थित महाप्रबन्धक नवराज शाहीले काठमाडौँभन्दा पोखराबाट हुने उडानमा टिकटको मूल्य पाँच हजारसम्म सस्तो रहेको बताए ।

उनले विश्वका १२० भन्दा बढी गन्तव्यमा फ्लाइ दुबईले सिधा उडान गर्दै आएको जनाउँदै पोखरा–दुबई उडान प्रवर्द्धनका क्रममा यात्रु तथा साझेदार संस्थाहरुलाई छुटलगायतका सुविधा दिइने बताए । पोखरा–दुबई उडानको सफलतासँगै अन्य अन्तरराष्ट्रिय एयरलाइन्स कम्पनी पोखरामा आकर्षित हुने विश्वास गरिएको छ ।

फ्लाइ दुबई र इमिरेट्स एयरलाइन्सबीच रणनीतिक कोडसेयर साझेदारीअन्तर्गत पोखरा–दुबई उडान सेवा सञ्चालन हुनेछ । पोखरादेखि अष्ट्रेलिया, युरोप वा अमेरिकी सहरमा पुग्ने यात्रुले एउटै टिकटबाट यात्रा गर्न सक्ने र गन्तव्यसम्म पुग्दा कुनै झण्झट नहुने जनाइएको छ ।

इमिरेट्स एयरलाइन्सले दुबई अन्तरराष्ट्रिय विमानस्थलको टर्मिनल ३ लाई आफ्नो प्रमुख हब बनाएर विश्वका छवटा महादेशका ७६ देशमा रहेका १४३ भन्दा बढी देशलाई हवाई सञ्जालमा जोड्दै आएको छ । एयरलाइन्सबीच हुने कोडसेयर साझेदारीले यात्रुको ट्रान्जिटलाई सहज बनाउने जनाइएको छ । पोखरादेखि दुबई हुँदै अन्य देशमा जाने यात्रुहरु एउटै टिकटबाट यात्रा गर्न सक्नेछन् ।

लामो प्रतिक्षापछि पोखराबाट नियमित अन्तरदेशीय उडान हुन लागेकाले यस क्षेत्रका पर्यटन व्यवसायीलगायत उत्साहित छन् । अन्तर्राष्ट्रिय उडानलाई दिगो तुल्याउन बजारीकरण तथा प्रवर्द्धनमा सरकारी निकाय र निजी क्षेत्रबाट पहल हुँदै आएको छ । सुरुमा एक महिनाका लागि मात्र दिनको एक पटक उडान गर्ने घोषणा गरेको फ्लाइ दुबईले सन् २०२७ को मार्च २६ सम्मकै बुकिङ खुला गरिएको जनाएको छ ।

पर्यटकीय राजधानी पोखरालाई अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोड्ने गरी हुन लागेको यस उडान मुलुककै पर्यटन क्षेत्रले प्रत्यक्ष लाभ लिने पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले बताए । उडान सफल बनाउन पोखरेली पर्यटन व्यवसायी एक्यबद्ध भएर लाग्ने उनको भनाइ छ ।

नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले पोखरा–दुबई उडानलाई सफल बनाउनु सम्बद्ध सबै पक्षको दायित्व भएको उल्लेख गरे । ‘पोखरालाई विश्वास गरेर फ्लाई दुबई यहाँ आएको छ, हामी सबैले आआफ्नो ठाउँबाट साथ दिनुपर्छ’, उनले भने ।

पहिलोपटक हुन लागेको यस उडानको दिगोपनाका लागि आउन सक्ने चुनौतीलाई सामाना गर्दै अवसरमा बदल्नुपर्ने उनले बताए । उपयुक्त हावापानी भएको सफा र सुन्दर पोखरालाई अन्तरराष्ट्रिय जगतमा पहिचान दिन फ्लाई दुबईको उडानले मद्दत पुग्ने उनको भनाइ छ ।

पोखरा महानगरपालिका र फ्लाई दुबईबीच पनि पर्यटन प्रवर्द्धन, गन्तव्यस्थलको बजारीकरण, अन्तरराष्ट्रिय हवाई सम्पर्क विस्तारलगायत पारस्परिक हितका क्षेत्रमा सहकार्यलाई निरन्तरता दिने विषयमा समझदारी भएको छ ।

उक्त उडानले पोखराको अन्तरराष्ट्रिय हवाई सम्पर्क विस्तारसँगै पर्यटन, व्यापार तथा आर्थिक गतिविधिमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ । त्यस उडानबाट गण्डकी प्रदेश र आसपासका नागरिकलाई सोझै लण्डन, न्युयोर्क, टोकियोजस्ता विश्वका २५० भन्दा बढी गन्तव्यमा पुग्न सहज हुने जनाइएको छ ।

वैदेशिक राजगोरी, अध्ययन, घुमफिर आदिका लागि अरब मुलुकसहित अन्य देशमा जाने यात्रु तथा सर्वसाधारणका लागि पनि यो उडान सेवा लाभदायी हुने देखिएको छ । पोखरा–दुबई उडानबाट तालै तालको नगरी पोखरासहित यहाँका पर्यटकीय क्षेत्रको घुमफिरका लागि विदेशी पर्यटक सिधँै पोखरा आउन सक्नेछन् ।

सन् २०२५ को मार्चमा हिमालय एयरलाइन्सले पहिलोपटक पोखरा–ल्हासा नियमित व्यावसायिक उडान सुरू गरे पनि यात्रु सङ्ख्या न्यून हुँदा उक्त उडान सेवा हाल स्थगन छ । पोखरा–दुबई उडान पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट हुन लागेको दोस्रो व्यावसायिक उडान हो । यसअघि चीन, भारत र भुटानका विभिन्न गन्तव्यमा चार्टर उडान भने हुँदै आएको थियो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपालको तेस्रो अन्तरराष्ट्रिय हवाई प्रवेशद्वारका रुपमा रहेको छ । काठमाडौं केन्द्रित रहेको हवाई चापलाई विकेन्द्रीकरणसँगै पर्यटन प्रवर्द्धन र आर्थिक गतिविधिका लागि पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्तरदेशीय उडान हुनुपर्ने आवाज उठ्दै आएको छ ।