काठमाडौंका केही एटीएमबाट १०० रुपैयाँका नोट निस्किन थाले
चाडपर्वको समयमा साना दरका नोटका लागि बैंक काउन्टरमा हुने भीड घटाउने उद्देश्यले बैंक तथा वित्तीय संस्थाले एटीएममार्फत १०० रुपैयाँका नोट उपलब्ध गराउन थालेका छन् ।
काठमाडौं । चाडपर्वको समयमा साना दरका नोटका लागि बैंक काउन्टरमा हुने भीड घटाउने उद्देश्यले बैंक तथा वित्तीय संस्थाले एटीएममार्फत १०० रुपैयाँका नोट उपलब्ध गराउन थालेका छन् । नेपाल राष्ट्र बैंकको आग्रहपछि केही बैंकले एटीएम मेसिनको प्राविधिक व्यवस्थापन गरी १०० रुपैयाँका नोट राख्न थालेका हुन् ।
यसअघि अधिकांश एटीएमबाट ५०० र १ हजार रुपैयाँका नोट मात्र निकाल्न मिल्ने व्यवस्था थियो। तर, दसैंलगायतका चाडपर्वलाई लक्षित गर्दै सर्वसाधारण तथा विद्यार्थीको सहजताका लागि १०० रुपैयाँका नोटसमेत एटीएमबाट उपलब्ध गराउने व्यवस्था सुरु गरिएको हो ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा मुद्रा व्यवस्थापन विभागका प्रमुख अनुज दाहालका अनुसार काठमाडौं उपत्यकाका केही प्रमुख स्थानमा यो सुविधा सञ्चालनमा आइसकेको छ । सिंहदरबार, न्युरोडलगायतका स्थानमा रहेका केही एटीएमबाट १०० रुपैयाँका नोट निकाल्न सकिने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।
बैंकहरूले आफ्ना कुल एटीएममध्ये करिब १५ देखि २५ प्रतिशत मेसिनमा १०० रुपैयाँका नोट राख्न सकिने जानकारी राष्ट्र बैंकलाई दिएका छन् । राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थालाई यस्तो व्यवस्था गर्न आग्रह गर्दै नेपाल बैंकर्स संघलाई पत्राचार गरेको थियो ।
चाडपर्वका बेला साना दरका नोट साट्न बैंकका काउन्टरमा लामो लाइन लाग्ने समस्या कम गर्न एटीएमबाटै १०० रुपैयाँका नोट उपलब्ध गराउने व्यवस्था गरिएको हो । यसबाट कम रकम आवश्यक पर्ने विद्यार्थी, न्यून आय भएका नागरिक तथा खुद्रा रकम चाहिने सर्वसाधारणलाई सहज हुने अपेक्षा गरिएको छ ।
तर, सबै एटीएमबाट तत्काल १०० रुपैयाँका नोट निकाल्न भने सम्भव छैन । पुराना मोडलका अधिकांश एटीएममा दुईवटा मात्र क्यासेट हुने भएकाले त्यहाँ १ हजार र ५०० रुपैयाँका नोट राखिँदै आएको छ । थप क्यासेट नभएकाले १०० रुपैयाँका नोट राख्न प्राविधिक समस्या हुने बैंकहरूको भनाइ छ ।
नयाँ प्रविधिका एटीएममा भने तीनदेखि चारवटासम्म क्यासेट हुने भएकाले अतिरिक्त क्यासेटमा १०० रुपैयाँका नोट राख्न सकिन्छ । हाल सञ्चालनमा रहेका एटीएममध्ये करिब २५ प्रतिशत नयाँ प्रविधिका भएकाले यस्ता मेसिनबाट प्राथमिकताका आधारमा १०० रुपैयाँका नोट उपलब्ध गराउन सकिने बैंकरहरूले बताएका छन् ।
राष्ट्र बैंकको यो व्यवस्थाले दसैं, तिहार र छठजस्ता चाडपर्वमा साना दरका नोटका लागि बैंक काउन्टरमा हुने चाप घटाउनुका साथै डिजिटल माध्यमबाटै आवश्यक रकम निकाल्न सर्वसाधारणलाई थप सुविधा पुग्ने अपेक्षा गरिएको छ ।