सरकार र नियामकका सुधार प्रयासबीच सेयर बजार सुस्त, लगानीकर्ताको विश्वास फर्किएन
काठमाडौं । सरकारले पुँजी बजार सुधारका लागि वर्षौंदेखि लगानीकर्ताले उठाउँदै आएका माग सम्बोधन गर्ने गरी एकपछि अर्को नीति अघि बढाइरहेको छ । नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन) पनि सुधारका योजनालाई कार्यान्वयनमा लैजाने क्रममा छ ।
तर, सरकार र नियामकले सुधारको पहल तीव्र बनाए पनि त्यसको प्रत्यक्ष प्रभाव भने सेयर बजारमा देखिन सकेको छैन । बजारमा कारोबार रकम घट्दै गएको छ भने लगानीकर्ताको उत्साह र विश्वास अझै कमजोर देखिएको छ । सरकारले हरेक महिना बजार सुधारसँग सम्बन्धित नयाँ नीति तथा कार्यक्रम अघि बढाइरहेको छ भने सेबोनले पनि त्यसको कार्यान्वयनलाई प्राथमिकता दिएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पुँजी बजार विस्तार तथा सुदृढीकरणका लागि २१ बुँदे कार्ययोजना ल्यायो जसमा करदेखि बजारको प्राविधिक तथा संरचनागत सुधारसम्मका विषय समेटिएका छन् ।
सरकारले कर पुनरावलोकन गरी एक वर्षभन्दा बढी अवधि सेयर होल्ड गर्ने लगानीकर्ताका लागि पुँजीगत लाभकर ३.७५ प्रतिशत र एक वर्षभन्दा कम अवधि होल्ड गर्नेलाई ५ प्रतिशत कायम गरेको छ । नेपाल राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थाले सेयर बिक्री गर्न पाउने होल्डिङ अवधिमा खुकुलोपना ल्याएको छ । यसले संस्थागत लगानीकर्तालाई बजारमा थप सक्रिय हुने बाटो खोलेको छ ।
तर, सुधारका निर्णयहरू एकपछि अर्को गर्दै आए पनि बजारले भने त्यसअनुसारको गति लिन सकेको छैन । रास्वपा सरकार गठन भएको पनि ६ महिना पुरा भएको छ । यस अवधिमा नेप्से परिसूचक ३६१ अंकले घटिसकेको छ । बजार घट्दा लगानीकर्ताले करिब ५ खर्ब ७१ अर्ब रुपैयाँ बराबरको सम्पत्ति गुमाएका छन् ।
गत चैत १० गते नेप्से परिसूचक २९६० विन्दुमा पुग्दा बजार पुँजीकरण ५० खर्ब २१ अर्ब रुपैयाँ पुगेको थियो । पछिल्लो शुक्रबार नेप्से २५८७.२५ विन्दुमा झर्दा बजार पुँजीकरण ४४ खर्ब ५० अर्ब रुपैयाँमा सीमित भएको छ ।
बजार सुधारका विषयमा संसद्को अर्थसमितिमा समेत छलफल भइरहेको छ । बुधबार बसेको अर्थसमिति बैठकमा सेबोनका अध्यक्ष डा. गोपालप्रसाद भट्टले पुँजी बजारलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने काम भइरहेको बताएका थिए । सरकार र नियामक दुवै पक्षबाट सुधारका प्रयास भइरहे पनि लगानीकर्ताको विश्वास भने अपेक्षित रूपमा फर्किन सकेको छैन ।
यस साता नेप्से परिसूचक १.६२ प्रतिशत अर्थात् ४२.५६ अंकले घटेर २५८७.२५ विन्दुमा बन्द भएको छ । गत साता नेप्से २६२९.८१ विन्दुमा थियो । पाँच कारोबार दिनमध्ये एक दिन मात्र बजार बढ्दा चार दिन नेप्से घटेको छ ।
परिसूचकसँगै कारोबार रकम पनि निरन्तर कमजोर बनेको छ । गत साता दैनिक औसत ६ अर्ब २८ करोड रुपैयाँको सेयर कारोबार भएकोमा यस साता औसत कारोबार रकम घटेर ४ अर्ब ७९ करोड रुपैयाँमा सीमित भएको छ । यो गत साताको तुलनामा २३.६५ प्रतिशत कम हो ।
इम्पेरियल सेक्युरिटिजका सहायक प्रबन्ध निर्देशक सीताराम अधिकारीका अनुसार सरकारले बजार सुधारका लागि विभिन्न योजना अघि बढाए पनि लगानीकर्तामा अपेक्षाअनुसारको विश्वास निर्माण भइसकेको छैन । सुधारको आधार तयार हुँदै गए पनि त्यसको प्रभाव बजारमा देखिन केही समय लाग्ने उनको भनाइ छ ।
“बजार सुधारका लागि आधार तयार हुँदै गएको छ । तर, लगानीकर्तामा अझै पर्याप्त कन्फिडेन्स आइसकेको छैन, त्यसैले कारोबार रकम कमजोर देखिएको हो,” अधिकारीले भने ।
उनका अनुसार अहिले फन्डामेन्टल रूपमा बलिया, नाफा बढाइरहेका तथा नियमित लाभांश दिने कम्पनीप्रति लगानीकर्ताको आकर्षण देखिन थालेको छ । केही कम्पनीले लाभांश घोषणा गरिसकेका छन् भने केही कम्पनी लाभांश घोषणाको तयारीमा छन् । कतिपय कम्पनीले साधारणसभा समेत बोलाउन थालेका छन् । तर, कमजोर फन्डामेन्टल भएका कम्पनीको सेयर मूल्यमा आएको गिरावटले समग्र बजार परिसूचकलाई दबाब दिएको अधिकारीको भनाइ छ ।
अहिले बजारमा दैनिक ४–५ अर्ब रुपैयाँको हाराहारीमा मात्र कारोबार भइरहेको छ । बजारको वास्तविक सक्रियता फर्काउन दैनिक ८–९ अर्बदेखि २२–२३ अर्ब रुपैयाँसम्मको कारोबार आवश्यक पर्ने अधिकारी बताउँछन् । कारोबार रकम बढाउन लगानीकर्ताको विश्वाससँगै संस्थागत लगानी बढ्नु आवश्यक रहेको उनको भनाइ छ ।
बैंक तथा वित्तीय संस्थालाई सेयर बिक्रीका लागि तोकिएको होल्डिङ अवधिमा गरिएको पछिल्लो खुकुलोपनले संस्थागत लगानी बढाउन सहयोग पुग्ने अधिकारीको अपेक्षा छ । संस्थागत लगानीकर्ता बजारमा प्रवेश गर्ने क्रममा रहे पनि बजार निरन्तर बढ्छ भन्ने विश्वास अझै बलियो बन्नुपर्ने उनको भनाइ छ ।
अधिकारीका अनुसार बजार सुधार तत्कालै ठूलो उछालका रूपमा देखिनेभन्दा पनि क्रमिक रूपमा अघि बढ्ने सम्भावना बढी छ । बैंकको ब्याजदर घट्दै जानु, बैंक तथा ब्रोकरमार्फत मार्जिन कर्जाको सुविधा विस्तार हुनु र लगानीकर्ताले विस्तारै बजारमा पैसा भित्र्याउन थाल्नु सकारात्मक संकेत हुन् ।
पछिल्लो समय ट्रेडरहरूले छोटो अवधिको ‘स्विङ ट्रेड’ गरिरहेका छन् । तर, विगत दुई–तीन वर्षदेखि बजारमा ठूलो रकम लगानी नगरेका पुराना लगानीकर्ता भने अझै पनि ठूलो रकम लिएर बजार प्रवेश गर्न हिच्किचाइरहेको अधिकारी बताउँछन् ।
उनका अनुसार अहिले तुलनात्मक रूपमा सस्तो ब्याजदरमा बैंक कर्जा लिन सकिने र ब्रोकरमार्फत मार्जिन ट्रेडिङको सुविधा विस्तार हुँदै गएकाले लगानीका विकल्प बढेका छन् । विशेषगरी लामो समयदेखि न्यून मूल्यमा रहेका बैंक तथा नियमित लाभांश दिने कम्पनीको सेयर मूल्य बढ्न थालेकाले बजारमा सुधारको आधार बन्न सक्ने उनको भनाइ छ ।
सरकार र नियामकबाट सुधारका निर्णयहरू आउने क्रम जारी रहे पनि ती निर्णयले लगानीकर्ताको व्यवहारमा परिवर्तन ल्याउन भने अझै समय लाग्ने देखिन्छ । त्यसैले अहिलेको मुख्य चुनौती नीति बनाउनेभन्दा पनि त्यसप्रति लगानीकर्ताको विश्वास जगाउनु र त्यसको प्रभाव कारोबारमा देखाउनु बनेको छ ।