असोज मसान्तको दबाब र चाडपर्व खर्चको बिक्री चाप घट्दै, अब सेयर बजारले लय समाउला ?

काठमाडौं । दसैंमा खर्च जुटाउन सेयर बिक्री गर्ने लगानीकर्ताको आवश्यकता पूरा भएको छ भने असोज मसान्तमा ब्याज र कर्जाको किस्ता बुझाउनुपर्ने दबाब पनि हटेको छ । बजारमा बिक्रीको चाप बढाउने यी कारण कम हुँदै जाँदा अब खरिद पक्ष बलियो बन्ने र नेप्सेले गति लिने अपेक्षा गरिएको छ । पछिल्लो १० वर्षको तथ्याङ्कमा दसैं आसपासका १० अवधिमध्ये सातपटक बजार बढेको देखिन्छ । चाडपर्वपछिको बजारलाई बैंकमा उपलब्ध लगानीयोग्य रकम, ब्याजदर र नीतिगत व्यवस्थाले समेत प्रभावित पार्ने देखिन्छ ।

दसैं सुरु हुनुअघिको साता नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । गत साता २५८.२५ विन्दुमा रहेको नेप्से यस साता ४.५५ अंक अर्थात् ०.१८ प्रतिशतले बढेर २५९१.८० विन्दुमा पुगेको हो । यस साता पाँच कारोबार दिनमध्ये तीन दिन बजार बढेको थियो भने दुई दिन घटेको थियो ।

दसैँ तथा तिहारजस्ता चाडपर्वमा खर्च जुटाउन सेयर बिक्री गर्ने प्रवृत्ति र असोज मसान्तमा ब्याज तथा कर्जाको किस्ता बुझाउनुपर्ने दायित्वले बजारमा बिक्रीको चाप बढाउने गरेको छ । अब चाडपर्वको खर्च व्यवस्थापन र ब्याज भुक्तानीको दबाब कम हुँदै जाँदा लगानीकर्ताको व्यवहारमा परिवर्तन आउन सक्ने अपेक्षा गरिएको छ । यद्यपि, बिक्रीको चाप घट्दैमा बजार अनिवार्य रूपमा बढ्छ भन्ने हुँदैन ।

दसैंपछि बजार बढ्ने सम्भावना कति ?

पछिल्लो १० वर्षको तथ्याङ्क हेर्दा दसैं आसपासका १० अवधिमध्ये सातपटक नेप्से बढेको र तीनपटक घटेको देखिन्छ । यसले दसैंपछि बजार बढेका घटना बढी रहेको देखाए पनि हरेक वर्ष बजार बढ्ने निश्चितता भने दिँदैन ।

दसैं नेपालको सबैभन्दा ठूलो चाड भएकाले यस अवधिमा धेरै लगानीकर्ता काठमाडौं उपत्यकाबाहिर जाने र आर्थिक गतिविधिको स्वरूप बदलिने गर्छ । चाडपर्वका बेला खर्च जुटाउन सेयर बेच्ने प्रवृत्तिले बजारमा बिक्रीको दबाब बढाउन सक्छ । तर, चाडपर्व सकिएपछि खर्चको आवश्यकता कम हुँदा बजारमा खरिदबिक्रीको सन्तुलन बदलिन सक्छ ।

बजारको दिशा निर्धारण गर्न चाडपर्वसँगै तरलता, ब्याजदर, लगानीकर्ताको विश्वास र बजारको अघिल्लो प्रवृत्तिले पनि महत्त्वपूर्ण भूमिका खेल्छन् । त्यसैले विगतको तथ्याङ्कमा देखिएको प्रवृत्तिका आधारमा मात्रै आगामी बजारको दिशा अनुमान गर्नु उपयुक्त हुँदैन ।

नेपाल इन्भेस्टर फोरमका अध्यक्ष तुलसीराम ढकालले दसैंपछि पुँजी बजारले गति लिने अपेक्षा गरेका छन् । बैंक तथा वित्तीय संस्थामा पर्याप्त लगानीयोग्य रकम उपलब्ध हुनु, ब्याजदर न्यून रहनु र सरकारले पुँजी बजार सुधारका लागि चासो देखाउनुले बजारलाई सकारात्मक दिशा दिन सक्ने उनको भनाइ छ ।

ढकालका अनुसार अहिले बैंक तथा वित्तीय संस्थामा करिब १६ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम छ । साढे पाँचदेखि ६ प्रतिशत ब्याजदरमा कर्जा पाउने अवस्था तथा सरकारले बजेटमार्फत पुँजी बजारका लागि ल्याएका कार्यक्रमले पनि बजारलाई सहयोग पु¥याउन सक्छन् । सेयर कारोबारमा लाग्ने पुँजीगत लाभकरलाई अन्तिम करका रूपमा व्यवस्थापन गर्ने व्यवस्था र नेपाल राष्ट्र बैंकको जोखिम भारसम्बन्धी नीतिले समेत सकारात्मक प्रभाव पार्न सक्ने उनको विश्लेषण छ ।

‘अहिले बैंकमा करिब १६ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम छ । साढे पाँचदेखि ६ प्रतिशत ब्याजदरमा कर्जा पाइने अवस्था छ । सरकारले पनि पुँजी बजारको दिगो विकासका लागि के गर्न सकिन्छ भनेर चासो देखाइरहेको छ,’ ढकालले भने ।

उनका अनुसार पछिल्लो समय बजारले अपेक्षित गति लिन नसक्नुमा नेपाल धितोपत्र बोर्डका केही नीतिगत व्यवस्थाले पनि प्रभाव पारेका छन् । विशेषगरी सेयर बिक्री गर्नुअघि सूचना दिनुपर्ने व्यवस्थाले लगानीकर्तामा अन्योल सिर्जना गर्नुका साथै बिक्रीको दबाब बढाएको उनको विश्लेषण छ ।

बोर्डले असोज २३ गते जारी गरेको संशोधित निर्देशनअनुसार आधारभूत सेयरधनीले आफ्नो स्वामित्वको १५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्न चाहेमा कम्तीमा १५ कारोबार दिनअघि सम्बन्धित कम्पनीलाई जानकारी गराउनुपर्नेछ । कम्पनीले उक्त सूचना नेपाल स्टक एक्सचेन्ज (नेप्से) मार्फत सार्वजनिक गर्नुपर्नेछ र सूचनाको वैधता तीन महिना रहनेछ । यसअघि पाँच प्रतिशतको सीमा रहेको थियो ।

ढकालले नीतिगत व्यवस्थामा देखिएको अन्योल कम हुनु सकारात्मक रहेको बताए । उनका अनुसार चाडपर्वको खर्च र असोज मसान्तको आर्थिक दायित्वले बजारमा बिक्रीको दबाब बढाएको थियो । यी दबाब कम हुनु र नीतिगत अन्योल घट्दै जानुले आगामी दिनमा बजारलाई सहयोग गर्न सक्ने उनको अपेक्षा छ ।

‘चाडपर्वअघि बजार धेरै माथि जाने अपेक्षा छैन । तर, चाडपर्व सकिएपछि पुँजी बजारले राम्रो गति लिने विश्वास छ,’ ढकालले भने ।

असोज २५ गते बूढीगण्डकी नदीमा आएको बाढीले चार जलविद्युत् आयोजनामा क्षति पु¥याएको छ । बाढीबाट ३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजना, २४.५ मेगावाटको दोभान खोला हाइड्रोपावर, ३०.५९ मेगावाटको यारु खोला जलविद्युत् आयोजना र १६ मेगावाटको माछा खोला जलविद्युत् आयोजनामा क्षति पुगेको हो ।

बाढीबाट प्रभावित आयोजनाको वास्तविक क्षति, पुनर्निर्माणमा लाग्ने समय र त्यसले कम्पनीको वित्तीय अवस्थामा पार्न सक्ने प्रभावले सम्बन्धित कम्पनीका लगानीकर्ताको निर्णयलाई प्रभावित गर्न सक्छ । तर, समग्र बजारको दिशा भने तरलता, ब्याजदर, लगानीकर्ताको विश्वास र नीतिगत वातावरणमा निर्भर रहनेछ ।

यस वर्ष असोज ३० गते शुक्रबारपछि नौ दिनको बिदा हुने र कात्तिक ९ गते सोमबारदेखि नियमित कारोबार पुनः सुरु हुने तालिका छ । लामो बिदापछि बजार खुल्दा लगानीकर्ताको मनोविज्ञान, खरिदबिक्रीको चाप र नयाँ आर्थिक तथा नीतिगत घटनाक्रमले बजारको दिशा निर्धारण गर्नेछन् । चाडपर्व र ब्याज भुक्तानीको दबाब कम भएकाले बजारमा सुधारको अपेक्षा गर्न सकिए पनि त्यसको वास्तविक संकेत कारोबार पुनः सुरु भएपछि मात्रै देखिनेछ ।