तिहारमा २४ घण्टै देउसी–भैलो खेल्न पाइने, गृह मन्त्रालयले तोक्यो सात सर्त
मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले कात्तिक २३ गते जारी गरेको परिपत्रमा तिहार नेपालीहरूको मौलिक सांस्कृतिक, धार्मिक तथा परम्परागत पर्व भएकाले देउसी–भैलो कार्यक्रमलाई अनुशासित र मर्यादित रूपमा सञ्चालन गर्न दिन भनिएको छ ।
काठमाडौँ । गृह मन्त्रालयले तिहारका अवसरमा देशभर २४ घण्टासम्म देउसी–भैलो कार्यक्रम सञ्चालन गर्न अनुमति दिएको छ । मन्त्रालयले सोमबार सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै आवश्यक सुरक्षा मापदण्ड र निर्धारित सर्त पालना गरी देउसी–भैलो खेल्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।
मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले कात्तिक २३ गते जारी गरेको परिपत्रमा तिहार नेपालीहरूको मौलिक सांस्कृतिक, धार्मिक तथा परम्परागत पर्व भएकाले देउसी–भैलो कार्यक्रमलाई अनुशासित र मर्यादित रूपमा सञ्चालन गर्न दिन भनिएको छ ।
यसअघि असोज २४ गते जारी गरिएको सूचनाको प्रभावकारी कार्यान्वयन गराउन पनि मन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ । चाडपर्वका क्रममा शान्ति सुरक्षा, सामाजिक सद्भाव र सार्वजनिक मर्यादा कायम राख्न मन्त्रालयले सातबुँदे सर्तसमेत अघि सारेको छ ।
निर्धारित सर्तअनुसार देउसी–भैलो कार्यक्रम स्वेच्छिक हुनुपर्नेछ। कसैलाई पनि कार्यक्रममा सहभागी हुन वा चन्दा तथा दक्षिणा दिन दबाब दिन पाइने छैन। त्यस्तै, जातजाति, धर्म, भाषा, लिंग तथा समुदायबीच द्वेष र घृणा फैलाउने खालका गीत, संगीत, नृत्य तथा नाराको प्रयोग गर्न निषेध गरिएको छ।
मन्त्रालयले तिहारका बेला जुवा तथा तास नखेल्न, सार्वजनिक स्थलमा मदिरा सेवन गरी होहल्ला नगर्न र मादक तथा लागूपदार्थ सेवन गरेर सवारीसाधन नचलाउन पनि आग्रह गरेको छ।
देउसी–भैलोका क्रममा ध्वनि प्रदूषण हुन नदिन ठूलो आवाजमा साउन्ड सिस्टम तथा अन्य ध्वनि उपकरण प्रयोग गर्न रोक लगाइएको छ। अस्पताल, वृद्धाश्रमलगायत संवेदनशील क्षेत्रको शान्तिमा असर नपर्ने गरी कार्यक्रम सञ्चालन गर्नुपर्ने परिपत्रमा उल्लेख छ।
त्यसैगरी सार्वजनिक तथा निजी सम्पत्तिको सुरक्षा, वातावरणीय स्वच्छता र फोहोरमैला व्यवस्थापनमा विशेष ध्यान दिन भनिएको छ। देउसी–भैलो खेल्दा जथाभावी फोहोर नगर्न पनि मन्त्रालयले सचेत गराएको छ। चाडपर्वका क्रममा कुनै शंकास्पद गतिविधि, दुर्घटना वा अन्य समस्या देखिए तत्काल प्रहरीको १०० वा आपत्कालीन कार्य सञ्चालन केन्द्रको १२३४ नम्बरमा खबर गर्न मन्त्रालयले अनुरोध गरेको छ।
शाखा अधिकृत आनन्द देश न्यौपानेद्वारा हस्ताक्षरित परिपत्रमा सबै जिल्ला प्रशासन कार्यालयलाई आवश्यक सुरक्षा समन्वय तथा व्यवस्थापन मिलाउन निर्देशन दिइएको छ।