आज विश्व विज्ञान दिवस मनाइँदै, शान्ति र विकासमा विज्ञानको भूमिकामाथि जोड

काठमाडौं । आज नोभेम्बर १० तारिख विश्वभर ‘शान्ति र विकासका लागि विश्व विज्ञान दिवस’ मनाइँदैछ । समाजमा विज्ञानको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने तथा वैज्ञानिक उपलब्धि र अनुसन्धानलाई आम नागरिकसम्म पुर्‍याउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ ।

विज्ञानलाई समाजसँग जोड्दै शान्ति स्थापना र दिगो विकासका लक्ष्य हासिल गर्न वैज्ञानिक सहकार्यलाई प्रोत्साहन गर्नु दिवसको मुख्य उद्देश्य रहेको छ ।

यस वर्षको दिवसको नारा ‘विज्ञान कूटनीतिमार्फत साझा समझदारी निर्माण’ रहेको छ। विज्ञानको माध्यमबाट विभिन्न देशबीच आपसी समझदारी, सहकार्य र सम्बन्ध विस्तार गर्ने विषयलाई यस वर्ष प्राथमिकता दिइएको छ ।

जलवायु परिवर्तन, स्वास्थ्य संकट, वातावरणीय समस्या तथा अन्य विश्वव्यापी चुनौतीको समाधानका लागि विज्ञान र प्रविधिको भूमिका महत्वपूर्ण मानिन्छ। यस्ता चुनौतीको सामना गर्न विभिन्न देशबीच वैज्ञानिक ज्ञान, अनुसन्धान र प्रविधिको आदानप्रदान आवश्यक रहेकोमा जोड दिइँदै आएको छ ।

दिवसका अवसरमा विभिन्न विद्यालय, विश्वविद्यालय तथा वैज्ञानिक संस्थाहरूले विज्ञान प्रदर्शनी, अन्तरक्रिया र जनचेतनामूलक कार्यक्रम आयोजना गर्ने गरेका छन् ।

सन् २००१ मा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले यस दिवसको घोषणा गरेको थियो । सन् २००२ देखि हरेक वर्ष नोभेम्बर १० मा यो दिवस मनाउन थालिएको हो ।

विज्ञानलाई मानव कल्याण, शान्ति र दिगो विकाससँग जोड्दै यसको जिम्मेवार प्रयोगलाई प्रोत्साहन गर्नु दिवसको मूल सन्देश रहेको छ ।