तिहार सम्झँदै कलाकार : कसैलाई बाल्यकालको सम्झना कसैलाई झिलिमिलीको रमाइलो
अहिले पनि ती दिन सम्झँदा उनलाई रमाइलो लाग्छ । यसपटक भने विदेशमा बस्ने उनकी बहिनी तिहार मनाउन नेपाल आउँदै छिन् । त्यसैले प्रदीपका लागि यस वर्षको तिहार परिवारसँग भेटघाट गर्ने अवसर पनि बनेको छ ।
काठमाडौं । कलाकार प्रदीप पौडेललाई तिहार भन्नेबित्तिकै बाल्यकालमा देउसीभैलो खेलेका दिन सम्झना आउँछ । परिवार र छिमेकी मिलेर देउसीभैलो खेल्न जाँदा उनलाई भट्याउन लगाइन्थ्यो । अहिले पनि ती दिन सम्झँदा उनलाई रमाइलो लाग्छ । यसपटक भने विदेशमा बस्ने उनकी बहिनी तिहार मनाउन नेपाल आउँदै छिन् । त्यसैले प्रदीपका लागि यस वर्षको तिहार परिवारसँग भेटघाट गर्ने अवसर पनि बनेको छ ।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले तिहारमा पछिल्लो समयमा काठमाडौंको माहोल पनि विशेष लाग्ने बताउँदै सहर झिलिमिली हुने र सबैको घरमा छुट्टै रौनक देखिने बताए । बाल्यकालमा समूह बनाएर देउसीभैलो खेल्न जाँदा आफूलाई भट्याउन लगाइने गरेको उनले स्मरण गरे ।
उनले भने,‘मेरो बहिनी बाहिर बस्छिन । यो वर्ष चाहिँ तिहारमा आउँदै छिन् । अलि धेरै पछि भाइटीका हुन्छ । पहिला पहिला बच्चामा हुँदा देउसीभैलो खेल्न हिँडिन्थ्यो । अहिलेसम्म यसपटक के गर्ने भन्ने त्यस्तो योजना बनेको छैन । देउसीभैलो नखेलेको पनि तीन–चार वर्ष भइसक्यो । मलाई चाहिँ देउसीभैलो नै विशेष लाग्छ । स्कुल पढ्ने बेलामा सानो छँदा मामाघर र घरतिरको देउसी खेल्ने समूहले बोलाउने गर्थे । त्यहाँ गएपछि मलाई भट्याउन लगाउँथे । अहिले पनि तिहार सम्झँदा मुख्य रूपमा त्यही समय र ती दिनहरू नै याद आउँछन् ।’
यस्तै ,अभिनेता पल शाहका लागि पनि तिहार बाल्यकालका सम्झना र बहिनीसँगको सम्बन्धसँग जोडिएको पर्व हो । उनलाई स्कुल पढ्दाको समयमा साथीहरूसँग समूह बनाएर घरघरमा देउसीभैलो खेल्न गएको अझै सम्झना छ । देउसीभैलो खेलेर जम्मा भएको पैसाले पिकनिक जाने गरेको उनी सुनाउँछन् । समयसँगै तिहार मनाउने शैली फेरिएको छ । पछिल्लो ५–६ वर्षदेखि उनले देउसीभैलो खेलेका छैनन् । अहिले आफैँ खेल्नुभन्दा अरूले खेलेको हेर्न रमाइलो लाग्ने उनी बताउँछन् ।
पलका लागि भाइटीका पनि तिहारको मत्वपूर्ण पक्ष हो । उनकी बहिनी विदेशमा रहेकाले कहिले बहिनी नेपाल आउने त कहिले आफू बहिनीलाई भेट्न जाने गरेको उनी सुनाउँछन् । गत वर्ष भाइटीका लगाउन आफू न्युजिल्यान्ड पुगेको उनले बताए । बहिनी आफ्नो सबैभन्दा मिल्ने साथी भएको उल्लेख गर्दै उनले उनीसँगको भेटलाई तिहारको विशेष खुसीका रूपमा लिएका छन् ।
त्यस्तै ,छायाँकार पुरुषोत्तम प्रधान भने नेवारी परम्पराअनुसार तिहार मनाउँछन् । तिहारको साँझ दिदीबहिनीहरू घरमा आएर टीका लगाइदिने गरेको उनी बताउँछन् । उनको तिहारमा परिवारसँगको भेटघाटले विशेष महत्त्व राख्छ । दिदीबहिनी, भान्जाभान्जी सबैसँग भेट हुने भएकाले हरेक वर्षको तिहार उनको प्रतीक्षाको पर्व बन्ने गरेको छ ।
पेसाले छायाँकार भएकाले पनि होला तिहारमा देखिने झिलिमिली बत्ती र सजावटले पनि उनलाई आकर्षित गर्छ । सहरका घर, सडक र बस्तीमा बालिएका बत्तीले तिहारको माहोललाई थप रमाइलो बनाउने उनको अनुभव छ । कामको व्यस्तताबीच परिवारका सदस्यहरूसँग एकै ठाउँमा भेटघाट गर्न पाउनु नै तिहारको सबैभन्दा राम्रो पक्ष भएको उनी बताउँछन् ।
कलाकार सिम्रन पन्तलाई भने तिहारमा गाउँमा मनाइने भैलोको सम्झना आउँछ । बाल्यकालमा राति गुन्यूचोली लगाएर गाउँमा भैलो खेल्न जाने गरेको क्षण उनी अझै बिर्सन सक्दिनन् । गाउँमा सबै मिलेर घरघरमा भैलो खेल्ने र चाडपर्व मनाउने चलनले छुट्टै रमाइलो दिने गरेको उनको सम्झना छ ।
काठमाडौं आएपछि भने तिहार मनाउने शैली फेरिएको उनको अनुभव छ । गाउँमा जस्तो सबै परिवार र छिमेकी एकै ठाउँमा भेला भएर चाडपर्व मनाउने वातावरण काठमाडौंमा कमै पाइने उनी बताउँछिन् । सहरमा परिवारहरू आ–आफ्नै ठाउँमा सीमित हुँदा गाउँको सामूहिक रमाइलो सम्झनामा मात्र सीमित भएको उनको भनाइ छ । यसपटकको तिहार पनि उनी आफ्नै काम र पारिवारिक भेटघाटमा बिताउने तयारीमा छिन् ।
जुना विश्वकर्मालाई पनि तिहारले बाल्यकालमा साथीहरूसँग देउसीभैलो खेलेका दिन सम्झाउँछ । साथीहरूसँग घरघरमा पुगेर देउसीभैलो खेल्ने, रमाइलो गर्ने र दक्षिणा जम्मा गर्ने क्षण उनका लागि तिहारका प्रिय सम्झना हुन् । भाइटीकाको दिन पनि उनको बाल्यकालको तिहारमा छुट्टै उत्साह हुने गथ्र्यो ।
तर अहिले समय र जिम्मेवारीसँगै तिहार मनाउने तरिका फेरिएको छ । यस वर्ष उनी देउसीभैलो खेल्ने योजनामा छैनन् । काममै व्यस्त रहने भए पनि घरमा बत्ती बाल्ने र लक्ष्मीपूजा गरेर तिहार मनाउने उनको तयारी छ । बाल्यकालमा जस्तो देउसीभैलो खेल्न नपाए पनि तिहारको परम्परा र पारिवारिक माहोललाई भने उनले निरन्तरता दिँदै आएकी छन् । कलाकारहरूका तिहार मनाउने तरिका र योजना फरक–फरक भए पनि उनीहरूका सम्झनामा बाल्यकालको देउसीभैलो, गाउँघरको रमाइलो र परिवारसँगको भेटघाट जोडिएका छन् । समयसँगै चाडपर्व मनाउने शैली फेरिए पनि तिहारले पुराना दिन र आफन्तसँगको सम्बन्धलाई फेरि सम्झाउने गरेको छ ।