सर्लाहीको चक्रघट्टामा आज शोक बिदा, दुर्घटनामा मृत्यु भएका परिवारलाई प्रतिपरिवार ५० हजार राहत
सर्लाही । सर्लाहीको चक्रघट्टा गाउँपालिकाले सवारी दुर्घटनामा परी ज्यान गुमाएका स्थानीय नागरिकका परिवारलाई प्रतिमृतक ५० हजार रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । दुर्घटनामा मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै गाउँपालिकाले आज शुक्रबार एक दिन स्थानीय शोक बिदासमेत दिएको छ ।
गाउँपालिकाले बिहीबार जारी गरेको शोक बिदासम्बन्धी सूचनाअनुसार बिहीबार बिहान मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–६, सिचापानी क्षेत्रमा भएको यात्रुवाहक विद्युतीय सवारी दुर्घटनामा चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका १३ जना यात्रुको दुःखद निधन भएको थियो ।
उक्त दुर्घटनामा आफ्ना स्थानीय नागरिक गुमाउनुपरेपछि गाउँपालिका अध्यक्ष कृष्णकुमार यादवले गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरे ।
गाउँपालिकाले मृतकका परिवारलाई प्रतिव्यक्ति ५० हजार रुपैयाँका दरले राहतस्वरूप आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको जनाएको छ । साथै मृतकहरूप्रति सम्मान प्रकट गर्दै गाउँपालिकाभित्रका सरकारी कार्यालय तथा शैक्षिक संस्थामा आज एक दिन शोक बिदा दिइएको छ ।