एनएमबि बैंकले घोषणा गर्यो ७ प्रतिशत नगद लाभांश, मंसिर १० सम्म सेयर हुनेले पाउने
प्रस्तावित लाभांश पारित गर्न बैंकले आगामी मंसिर २५ गते शुक्रबार ३१औँ वार्षिक साधारणसभा बोलाएको छ ।
काठमाडौं । एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंकको शुक्रबार बसेको सञ्चालक समितिको ५१९औँ बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित नगद लाभांशमा कर प्रयोजनका लागि आवश्यक रकमसमेत समावेश गरिएको छ ।
बैंकको हाल कायम १९ अर्ब २८ करोड ५० लाख ४१ हजार २५७ रुपैयाँ २० पैसा चुक्ता पुँजीको आधारमा ७ प्रतिशतका दरले १ अर्ब ३४ करोड ९९ लाख ५२ हजार ८८८ रुपैयाँ नगद लाभांश वितरण गरिनेछ ।
त्यस्तै, बैंकले ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयरधनीलाई पनि नगद लाभांश दिने प्रस्ताव गरेको छ । यसअन्तर्गत ३ अर्ब रुपैयाँ चुक्ता पुँजीको ८.२५ प्रतिशतका दरले १२ करोड २० लाख ५४ हजार ७९४ रुपैयाँ ५२ पैसा वितरण गरिने बैंकले जनाएको छ । उक्त लाभांश सेयर बाँडफाँट भएको मितिदेखि २०८३ असार मसान्तसम्मको १८० दिनका लागि समानुपातिक रूपमा गणना गरिएको हो ।
प्रस्तावित लाभांश पारित गर्न बैंकले आगामी मंसिर २५ गते शुक्रबार ३१औँ वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर ११ गते एक दिन बुक क्लोज गर्ने निर्णयसमेत गरेको छ।
यसअनुसार मंसिर १० गतेसम्म बैंकको सेयरधनी कायम रहने लगानीकर्ताले साधारणसभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।
साधारणसभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने तथा चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पेस गरिनेछ ।