टेस्लाले छनोट ग्राहकलाई साइबरक्याब बिक्री गर्ने
टेस्लाले शुक्रबार सामाजिक सञ्जाल एक्समार्फत केही ग्राहकलाई व्यक्तिगत प्रयोजनका लागि साइबरक्याब खरिद गर्न आमन्त्रण गरिएको जनाएको हो ।
एजेन्सी । अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाले केही छनोट गरिएका ग्राहकलाई व्यक्तिगत प्रयोगका लागि आफ्नो चालकविहीन विद्युतीय कार ‘साइबरक्याब’ खरिद गर्न दिने भएको छ । टेस्लाले शुक्रबार सामाजिक सञ्जाल एक्समार्फत केही ग्राहकलाई व्यक्तिगत प्रयोजनका लागि साइबरक्याब खरिद गर्न आमन्त्रण गरिएको जनाएको हो ।
सन् २०२४ को अक्टोबरमा सार्वजनिक गरिएको दुई सिट क्षमताको साइबरक्याबमा स्टेयरिङ ह्विल र पेडल छैनन् । यो सवारीसाधन टेस्लाको ‘रोबोट्याक्सी’ सेवाअन्तर्गत अमेरिकाका केही सहरमा सञ्चालनमा आइसकेको छ ।टेस्लाले सार्वजनिक गरेको तस्बिरअनुसार साइबरक्याबको अनुमानित मूल्य करबाहेक २९ हजार ९९० अमेरिकी डलर तोकिएको छ । कम्पनीले यसको डेलिभरी डिसेम्बरदेखि सुरु हुने अनुमान गरेको छ ।
साइबरक्याब खरिद गर्न ग्राहकले एक हजार अमेरिकी डलर फिर्ता नहुने अग्रिम रकम बुझाउनुपर्नेछ । साथै, स्वायत्त ड्राइभिङ सुविधाका लागि मासिक २९९ अमेरिकी डलर सदस्यता शुल्क पनि तिर्नुपर्ने व्यवस्था गरिएको छ ।
टेस्लाले गत वर्ष अस्टिनमा मोडेल वाई एसयूभी प्रयोग गरी आफ्नो स्वचालित ट्याक्सी सेवा सुरु गरेको थियो । त्यसपछि उक्त सेवा टेक्सास, फ्लोरिडा र क्यालिफोर्नियाका अन्य सहरमा विस्तार गरिएको छ ।
यद्यपि, अमेरिकाका विभिन्न राज्यमा लागू कानुनअनुसार आवश्यक पर्दा सवारीसाधन नियन्त्रणमा लिन सक्ने गरी मानव चालक वा निरीक्षकको उपस्थिति अनिवार्य छ ।
यसैबीच, गुगलको मूल कम्पनी अल्फाबेटको स्वचालित सवारीसाधनसम्बन्धी सहायक कम्पनी वेमोले अमेरिकाका ११ सहरमा आफ्नो रोबोट्याक्सी सेवा सञ्चालन गरिरहेको छ । गत सेप्टेम्बरमा अमेरिकी सवारीसाधन सुरक्षा नियामक निकायले साइबरक्याबमाथि अनुसन्धान सुरु गरेको थियो । स्टेयरिङ ह्विल, पेडल र साइड मिररसमेत नभएको उक्त सवारीसाधनले सङ्घीय सुरक्षा मापदण्ड कसरी पूरा गर्छ भन्ने विषयमा नियामकले प्रश्न उठाएको थियो।
टेस्लाले भने साइबरक्याब अपाङ्गता भएका व्यक्तिका लागि समेत सुरक्षित र सहज हुने दाबी गर्दै आएको छ । कम्पनीका अनुसार यसले सबैका लागि स्वच्छ यातायातको पहुँच विस्तार गर्नेछ ।