प्रसारण लाइनमा बाढीको क्षति, माउन्टेन इनर्जीको नाफा ३१ प्रतिशत घट्यो

कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म २९ करोड २६ लाख ४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४२ करोड ३४ लाख ९६ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

काठमाडौं । बाढीका कारण विद्युत् प्रसारण लाइनमा क्षति पुगेपछि माउन्टेन इनर्जी नेपालको विद्युत् बिक्री प्रभावित भएको छ । यसको असर कम्पनीको नाफामा देखिएको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा कम्पनीको खुद नाफा गत वर्षको तुलनामा ३०.९१ प्रतिशतले घटेको छ ।

कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म २९ करोड २६ लाख ४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४२ करोड ३४ लाख ९६ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको विद्युत् बिक्री आम्दानी पनि २४.१६ प्रतिशतले घटेर ४६ करोड ५३ लाख १९ हजार रुपैयाँमा झरेको छ । गत वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी ६१ करोड ३५ लाख ५९ हजार रुपैयाँ थियो ।

कम्पनीका दुई जलविद्युत् आयोजनामध्ये ४२ मेगावाट क्षमताको मिस्त्री खोला आयोजनाबाट ४३ करोड ८० लाख ५७ हजार र ५ मेगावाटको तादी खोला आयोजनाबाट २ करोड ७२ लाख ६२ हजार रुपैयाँ आम्दानी भएको छ ।

कम्पनीका अनुसार भदौ र असोजमा आएको बाढीले नेपाल विद्युत् प्राधिकरणको प्रसारण लाइनमा क्षति पुर्‍याउँदा विद्युत् बिक्री प्रभावित भएको हो । भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण तादी खोला आयोजनाको विद्युत् बिक्री आंशिक रूपमा प्रभावित भएको थियो । त्यस्तै, कालीगण्डकी नदीमा आएको बाढीले प्रसारण लाइनमा क्षति पुर्‍याएपछि असोज ११ देखि ३१ गतेसम्म मिस्त्री खोला आयोजनाको विद्युत् बिक्री पूर्ण रूपमा बन्द भएको कम्पनीले जनाएको छ ।

विद्युत् बिक्री आम्दानी घटेसँगै कम्पनीको सञ्चालन नाफा पनि ४७ करोड १६ लाख ४८ हजार रुपैयाँबाट घटेर ३३ करोड ९२ लाख २८ हजार रुपैयाँमा सीमित भएको छ । यद्यपि, वित्तीय खर्च भने घटेको छ । गत वर्षको पहिलो त्रैमासमा ५ करोड ७० लाख ३६ हजार रुपैयाँ रहेको ब्याज खर्च यस वर्ष ३ करोड ८८ लाख ६२ हजार रुपैयाँमा झरेको छ ।

कम्पनीको चुक्ता पुँजी ३ अर्ब १२ करोड ३२ लाख ५८ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ८७ करोड ५६ लाख १८ हजार रुपैयाँ सञ्चित छ ।

पहिलो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ३७ पैसा कायम भएको छ । गत वर्षको सोही अवधिमा समायोजित प्रतिसेयर आम्दानी १३ रुपैयाँ ५६ पैसा थियो । त्यस्तै, प्रतिसेयर नेटवर्थ १६० रुपैयाँ ५ पैसा र मूल्य आम्दानी अनुपात ५९.६८ गुणा रहेको छ ।

यसैबीच, कम्पनीले मध्यस्थता र उच्च अदालत पाटनको फैसलाअनुसार नेपाल विद्युत् प्राधिकरणबाट ब्याजबाहेक १ अर्ब ४८ लाख ७५ हजार रुपैयाँ दाबी रकम प्राप्त गर्न बाँकी रहेको जनाएको छ । उक्त रकम असुलीका लागि कम्पनीले ललितपुर जिल्ला अदालतमा निवेदन दिएको छ ।