एक महिनामा ४१ हजार बढी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

यसपालि अक्टोबरमा अन्नपूर्ण संरक्षण क्षेत्र पुगेका पर्यटकमध्ये १९ हजार २०७ जना दक्षिण एसियाली मुलुक र बाँकी अन्य देशका हुन् ।

काठमाडौं । एक महिनामा करिब ४२ हजार विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन् । यो वर्ष अक्टोबर महिनामा ४१ हजार ७५८ जना विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका हुन् । यो संख्या गत वर्षको सोही महिनाको तुलनामा ४ हजार ६८२ ले बढी हो। गत वर्ष अक्टोबरमा ३७ हजार ७६ पर्यटक अन्नपूर्ण संरक्षण क्षेत्रमा पुगेका थिए । यसपालि अक्टोबरमा अन्नपूर्ण संरक्षण क्षेत्र पुगेका पर्यटकमध्ये १९ हजार २०७ जना दक्षिण एसियाली मुलुक र बाँकी अन्य देशका हुन् ।

अन्नपूर्ण संरक्षण क्षेत्रमा अहिले आन्तरिक पर्यटक पनि ठूलो संख्यामा पुगेका छन् । तर आयोजना कार्यालयले विदेशी पर्यटकको मात्र तथ्यांक राख्ने गरेको छ । अन्नपूर्ण क्षेत्र पदयात्रा रूचाउने पर्यटकको रोजाइमा पर्दै आएको छ। संरक्षण क्षेत्रमा पर्ने अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, म्याग्दीको घोडेपानीलगायत गन्तव्यस्थलमा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा समेटिएका छन् ।