चिसो जलमा न्यानो आस्थाः काठमाडौंको छठ घाट
चिसो पानीमा घुँडासम्म डुबेर, नाकको टुप्पोदेखि सिउँदोसम्म पहेँलो-रातो सिन्दूर सजाई, हातमा करुवा, कलश र धूपबत्ती लिएर उदाउँदो र अस्ताउँदो सूर्यलाई अर्घ्य दिइरहेका व्रतालुहरूको मुहारमा देखिने शान्तिले हरेक दर्शकलाई भावविभोर बनाउँछ ।
काठमाडौँ । अब छठ केवल मधेस वा तराईको मात्र पर्व रहेन । यो आज काठमाडौँको साझा सांस्कृतिक धुकधुकी बनिसकेको छ । चिसो पानीमा घुँडासम्म डुबेर, नाकको टुप्पोदेखि सिउँदोसम्म पहेँलो-रातो सिन्दूर सजाई, हातमा करुवा, कलश र धूपबत्ती लिएर उदाउँदो र अस्ताउँदो सूर्यलाई अर्घ्य दिइरहेका व्रतालुहरूको मुहारमा देखिने शान्तिले हरेक दर्शकलाई भावविभोर बनाउँछ ।
बिहानैदेखि छठ घाटको सिँढीहरू सयपत्री फूलको माला, उखुका लाँक्रा, बाँसको छिटा र माटाका दियोहरूले भरिएका छन् । एकातिर ज्याकेट, ऊनी टोपी र न्यानो दोसल्लामा सजिएका परिवारजन हुन्छन् भने अर्कोतिर चिसो पानीको कुनै परवाह नगरी घुँडासम्म जलमा उभिएका व्रतालुहरू । यही विपरीत दृश्यले काठमाडौँको छठलाई अझ विशेष र मार्मिक बनाउँछ । जब अर्घ्य दिने बेला आउँछ, तब सम्पूर्ण घाटमा एक किसिमको दिव्य मौनता र एकाग्रता छाउँछ । चाँदी, तामा र पीतलका करुवा अनि कलशहरू आकाशतिर उचालिन्छन् ।
धूपको सुगन्धित धुवाँसँगै बगेको दूध र जलको अविरल धारमा व्रतालुहरूको महिना दिनदेखिको व्रत, तपस्या र सदिच्छा मिसिएको हुन्छ । छठ पूजा एकल प्रयास होइन, यो सिङ्गो परिवारको साझा अनुष्ठान हो । कतै श्रीमानले श्रीमतीको हात थामेर दूधको अर्घ्य दिइरहेका छन् त कतै हजुरबुबादेखि नाति–नातिनासम्म एउटै पानीमा उभिएर सूर्यदेवलाई नमन गरिरहेका छन् ।
बन्द आँखा र जोडिएका हातहरूमा देखिने निश्छल भक्तिले पुस्ताबीचको आत्मीयतालाई अझ प्रगाढ बनाउँछ । सूर्यको किरणसँगै पानीमा झरेका दूध र जलका प्रत्येक थोपाले केवल धार्मिक अनुष्ठान मात्र पूरा गर्दैनन्, तिनले प्रकृतिप्रतिको कृतज्ञता, पारिवारिक एकता र सांस्कृतिक सद्भावको सन्देश पनि प्रवाहित गर्छन् ।
काठमाडौँका घाटहरूमा गुञ्जिने छठका लोकभाका, पातला ज्याकेट र राता साडीहरूको यो मेलले नेपाली समाजको बहुलता र आत्मीयतालाई अझ उज्यालो बनाएको छ ।