जीवन बीमा कम्पनीहरूको नाफा ११.३४ प्रतिशतले घट्यो
सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीले असोज मसान्तसम्म कुल १ अर्ब ७४ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरूको खुद नाफामा गिरावट आएको छ । सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीले असोज मसान्तसम्म कुल १ अर्ब ७४ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।
यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.३४ प्रतिशतले कम हो । गत वर्षको पहिलो त्रैमासमा यी कम्पनीहरूले १ अर्ब ९६ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।
कम्पनीगत नाफाका आधारमा सन नेपाल लाइफ इन्स्योरेन्स पहिलो स्थानमा रहेको छ । कम्पनीले समीक्षा अवधिमा २४ करोड ४९ लाख २३ हजार रुपैयाँ नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा २३ करोड ९२ लाख ७७ हजार रुपैयाँ नाफा कमाएको कम्पनीले यस वर्ष २.३६ प्रतिशतले सुधार गरेको हो ।
त्यस्तै, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स २२ करोड ९० लाख ६९ हजार रुपैयाँ खुद नाफासहित दोस्रो स्थानमा रहेको छ । यद्यपि, कम्पनीको नाफा गत वर्षको २५ करोड ८५ लाख २ हजार रुपैयाँको तुलनामा ११.३९ प्रतिशतले घटेको छ ।
समग्रमा जीवन बीमा क्षेत्रको नाफा घटे पनि कम्पनीहरूको प्रदर्शन भने मिश्रित देखिएको छ । अधिकांश कम्पनीको नाफामा संकुचन आएको अवस्थामा केही कम्पनीले सुधार गरेका छन् । प्रभु महालक्ष्मी लाइफले नाफा वृद्धिमा अग्रता कायम गरेको छ ।
जीवन बीमा कम्पनीहरूको वित्तीय अवस्थाको मूल्याङ्कन गर्दा खुद नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि महत्त्वपूर्ण सूचकका रूपमा हेरिन्छ ।
थप तस्बिरहरू