पार्टीपंक्तिलाई ओलीको निर्देशन–‘आन्दोलनको मानसिकता बनाएर बस्नू, कुनैपनि बेला आन्दोलनमा जानुपर्ने हुनसक्छ’

उनले एमाले नेपालको सबैभन्दा मजबुत, देशभक्त र लोकतान्त्रिक शक्ति भएको जिकिर गर्दै नागरिकमा बढ्दै गएको बेचैनी र निराशालाई सम्बोधन गर्न पार्टी वैचारिक रूपमा स्पष्ट भएर जनपक्षीय आन्दोलनको बाटोमा अघि बढ्नुपर्ने बताए ।

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै समयमा सरकारविरुद्ध आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भन्दै पार्टीका नेता तथा कार्यकर्तालाई मानसिक र सांगठनिक रूपमा तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । आइतबार काठमाडौंमा अखिल नेपाल किसान महासंघको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै पार्टीले आन्दोलनको तयारी गर्नुपर्ने बताएका हुन् । आन्दोलन सधैँ लामो तयारीपछि मात्रै नहुने भन्दै उनले परिस्थिति असह्य बने तत्कालै आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने बताए ।

उनले सन् १९१७ को रुसी विद्रोहको उदाहरण दिँदै निर्वाचन, जनविद्रोह र उपद्रवकारी गतिविधिसमेतबाट राजनीतिक परिवर्तन हुने गरेको उल्लेख गरे । त्यसैले पार्टीका नेता तथा कार्यकर्ता कुनै पनि परिस्थितिमा आन्दोलनमा जानुपर्ने अवस्था आउन सक्ने भन्दै मानसिक रूपमा तयार रहनुपर्ने उनको भनाइ थियो । ओलीले एमालेले विगतदेखि नै विभिन्न राजनीतिक चुनौती र दमनको सामना गर्दै आएको दाबी गरे ।

पञ्चायतकाल र राजा महेन्द्रको शासनकालमा समेत पार्टीलाई समाप्त पार्ने प्रयास भएको उल्लेख गर्दै उनले कठिन परिस्थितिसँग जुध्दै पार्टी अहिलेको अवस्थामा आइपुगेको बताए । उनले एमाले नेपालको सबैभन्दा मजबुत, देशभक्त र लोकतान्त्रिक शक्ति भएको जिकिर गर्दै नागरिकमा बढ्दै गएको बेचैनी र निराशालाई सम्बोधन गर्न पार्टी वैचारिक रूपमा स्पष्ट भएर जनपक्षीय आन्दोलनको बाटोमा अघि बढ्नुपर्ने बताए ।

अध्यक्ष ओलीले पार्टीका सामु दुईवटा महत्वपूर्ण कार्यभार रहेको उल्लेख गर्दै आवश्यकताअनुसार आन्दोलन गर्ने र त्यसका लागि सधैँ तयारी अवस्थामा रहने निर्देशन दिए । उनले केही शक्तिहरू निर्वाचनमार्फत पार्टी निर्माण गर्ने तयारीमा रहेको भन्दै एमाले भने पार्टी निर्माण गरेर निर्वाचनमा जानुपर्ने बताए । पार्टी निर्माण नगरी निर्वाचनमा केन्द्रित हुनु उपयुक्त नहुने उनको भनाइ थियो ।