सोमपालले एसिया कप राइजिङ स्टार्स गुमाए, प्रतिश जिसी टिममा सामेल

उनी एनपीएलको तेस्रो संस्करणको अन्तिम खेलका क्रममा घाइते भएका थिए ।

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अनुभवी अलराउन्डर सोमपाल कामीले कतारमा आयोजना हुने ‘एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स २०२६’ प्रतियोगिता गुमाउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले चोटका कारण सोमपाल प्रतियोगितामा सहभागी हुन नसक्ने जनाएको हो । उनी एनपीएलको तेस्रो संस्करणको अन्तिम खेलका क्रममा घाइते भएका थिए ।

नोभेम्बर १९ देखि २९ सम्म कतारमा सञ्चालन हुने प्रतियोगितामा नेपालले सन्दीप लामिछानेको कप्तानीमा प्रतिस्पर्धा गर्नेछ। क्यानले यसअघि लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको थियो । सोमपालको स्थानमा तीव्र गतिका बलर प्रतिश जिसीलाई टोलीमा समावेश गरिएको छ । यसैगरी, वैकल्पिक खेलाडीका रूपमा रहेका मयन यादवलाई पनि मुख्य टिममा समावेश गरिएको क्यानले जनाएको छ ।