बंगलादेशका अन्तरिम सरकारका पूर्व प्रमुख युनुसको पुर्ख्यौली घरमा आगजनी
प्रहरी गस्तीमा रहेका बेला घरको भुइँतलामा आगो लागेको देखेपछि तत्काल घटनास्थल पुगेर आगो निभाइएको डेली स्टार बंगलादेशले उल्लेख गरेको छ ।
काठमाडौं । बंगलादेशका अन्तरिम सरकारका पूर्व प्रमुख सल्लाहकार तथा नोबेल शान्ति पुरस्कार विजेता प्राध्यापक मुहम्मद युनुसको पुर्ख्यौली घरमा आगजनी भएको छ । बुधबार राति चट्टोग्रामको पाँचलाइश क्षेत्रमा रहेको उनको घरको भुइँतलाको एउटा कोठामा आगो लगाइएको हो ।
प्रहरी गस्तीमा रहेका बेला घरको भुइँतलामा आगो लागेको देखेपछि तत्काल घटनास्थल पुगेर आगो निभाइएको डेली स्टार बंगलादेशले उल्लेख गरेको छ । लामो समयदेखि प्रयोगमा नरहेको उक्त कोठामा पुराना फर्निचर र सामान राखिएको बताइएको छ । घरको दोस्रो र तेस्रो तलामा युनुसका दुई भाइका परिवार बस्दै आएका छन्। घटनामा मानवीय क्षति भएको विवरण सार्वजनिक भएको छैन ।
प्रहरीले आगजनीमा संलग्न व्यक्तिको पहिचान गर्न अनुसन्धान थालेको र घटनापछि घर आसपासको सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ । यो घटना बंगलादेशमा पछिल्लो समय बढिरहेको हिंसात्मक गतिविधिबीच भएको हो। युनुसले स्थापना गरेको ग्रामीण बैंकका चट्टोग्रामका अनवारा र सतकानिया क्षेत्रमा रहेका दुई शाखामा पनि केही दिनअघि आगजनी भएको थियो । देशका अन्य स्थानमा रहेका ग्रामीण बैंकका कार्यालयसमेत आगजनीको निशानामा परेको खबर सार्वजनिक भएका छन् । ग्रामीण बैंकका अनुसार नोभेम्बर १० यता देशभर कम्तीमा ३७ शाखा तथा कार्यालयमा आगजनी वा आगजनीको प्रयास भएको छ । यसैबीच, पूर्वप्रधानमन्त्री शेख हसिनाको अवामी लिगले बिहीबार देशव्यापी बन्दको आह्वान गरेको छ । भारतमा निर्वासनमा रहेकी हसिनालाई स्वदेश फर्कन आवश्यक कागजात उपलब्ध नगराइएको विरोधमा बन्द आह्वान गरिएको हो । बन्दको पूर्वसन्ध्यामा विभिन्न क्षेत्रमा बम विस्फोट, सवारीसाधनमा आगजनी र तोडफोडका घटना भएका छन् ।
युनुसको घरमा भएको आगजनीको विषय संयुक्त राष्ट्रसंघको मुख्यालयमा समेत उठाइएको थियो । संयुक्त राष्ट्रसंघका महासचिवका उपप्रवक्ता फरहान हकले बंगलादेशमा भएका सबै हिंसात्मक घटनाको राष्ट्रिय अधिकारीहरूले निष्पक्ष र गम्भीर अनुसन्धान गर्नुपर्ने बताएका थिए । उनले शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकार भए पनि प्रदर्शन शान्तिपूर्ण नै रहनुपर्नेमा जोड दिएका थिए ।