एनसेलले थ्रीजी हटाएर फोरजी विस्तार गर्दै, पुस २ देखि सेवा पूर्ण बन्द हुने

बाँकी साइटमा थ्रीजी सेवा बन्द गर्न कम्पनीले चार चरणको तालिका सार्वजनिक गरेको छ । पहिलो चरणमा मंसिर ७ गते लुम्बिनी र गण्डकी प्रदेशका साइटमा सेवा बन्द गरिनेछ । दोस्रो चरणमा मंसिर १४ गते काठमाडौं, ललितपुर र भक्तपुरमा थ्रीजी सेवा बन्द हुनेछ ।

काठमाडौं । एनसेलले आगामी पुस २ गतेदेखि देशभर थ्रीजी सेवा पूर्ण रूपमा बन्द गर्ने भएको छ । पुरानो प्रविधि विस्थापन गर्दै फोरजी नेटवर्कको क्षमता र गुणस्तर विस्तारमा केन्द्रित हुन लागेको कम्पनीले ग्राहकलाई फोरजी सिममा स्तरोन्नति गरी भोल्टे सेवा प्रयोग गर्न आग्रह गरेको छ ।

कम्पनीका अनुसार कुल ३ हजार १२९ थ्रीजी साइटमध्ये ९९२ वटामा सेवा बन्द भइसकेको छ । अब बाँकी २ हजार १३७ साइटमा पनि चरणबद्ध रूपमा सेवा बन्द गरिनेछ । यो कुल थ्रीजी साइटको करिब ६८ प्रतिशत हो ।

बाँकी साइटमा थ्रीजी सेवा बन्द गर्न कम्पनीले चार चरणको तालिका सार्वजनिक गरेको छ । पहिलो चरणमा मंसिर ७ गते लुम्बिनी र गण्डकी प्रदेशका साइटमा सेवा बन्द गरिनेछ । दोस्रो चरणमा मंसिर १४ गते काठमाडौं, ललितपुर र भक्तपुरमा थ्रीजी सेवा बन्द हुनेछ ।

त्यस्तै, तेस्रो चरणमा मंसिर २१ गते मधेश र गण्डकी प्रदेशका बाँकी विभिन्न स्थान तथा चितवनमा सेवा बन्द गरिनेछ । चौथो तथा अन्तिम चरणमा मंसिर २६ गते मधेश र कोशी प्रदेशका बाँकी स्थानमा थ्रीजी सेवा बन्द गर्ने कम्पनीको योजना छ ।

थ्रीजी सेवा बन्द भए पनि फोरजीमा स्तरोन्नति गर्न नसक्ने ग्राहकले टुजीमार्फत आधारभूत भ्वाइस कल र एसएमएस सेवा भने प्रयोग गर्न पाउनेछन् । तर, फोरजी डेटा प्रयोग गर्न फोरजी सिम र उक्त प्रविधि सपोर्ट गर्ने मोबाइल आवश्यक पर्नेछ ।

ग्राहकले नजिकैको एनसेल सेन्टर वा आधिकारिक बिक्री केन्द्रमा पुगेर पुरानो सिम निःशुल्क फोरजीमा परिवर्तन गर्न सक्नेछन् । सिम परिवर्तन गर्दा सात दिनसम्म प्रयोग गर्न मिल्ने २ जीबी डेटा पनि निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ । हाल एनसेलका सक्रिय ग्राहकमध्ये करिब ५ प्रतिशतले अझै फोरजी सिम प्रयोग गरेका छैनन् ।

फोरजीमा आधारित भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) सेवामार्फत स्पष्ट आवाज, छिटो कल कनेक्सन तथा कुराकानीसँगै इन्टरनेट प्रयोग गर्न सकिने कम्पनीको भनाइ छ । यो सेवा प्रयोग गर्न फोरजी सिम, भोल्टे सपोर्ट गर्ने मोबाइल र फोरजी नेटवर्कको पहुँच आवश्यक हुन्छ । ग्राहकले ८१२८८११३ डायल गरी सेवा सक्रिय गरेपछि मोबाइलको सेटिङमा समेत भोल्टे सुविधा खुलाउन सक्नेछन् ।

एनसेलकी नेटवर्क हेड लेना केशरी कंसाकारले पुराना प्रणालीको सञ्चालन तथा मर्मतसम्भार खर्च घटाउँदै छिटो र प्रभावकारी प्रविधिमा रूपान्तरण गर्ने योजनाअनुसार थ्रीजी सेवा बन्द गर्न लागिएको बताइन् । यसले भोल्टेसहितको फोरजी नेटवर्क सुदृढ बनाउन र भविष्यमा फाइभजी प्रविधि भित्र्याउन आवश्यक तयारी गर्न सहयोग पुग्ने उनको भनाइ छ ।

थ्रीजी सेवा बन्द भएपछि त्यसका लागि प्रयोग भइरहेको फ्रिक्वेन्सी फोरजीको क्षमता विस्तार र कनेक्टिभिटी सुधारमा पुनः प्रयोग गरिने कम्पनीले जनाएको छ । हाल एनसेलको फोरजी नेटवर्क करिब ९५ प्रतिशत जनसंख्याको पहुँचमा पुगिसकेको कम्पनीको दाबी छ ।