भृकुटीमण्डपमा इलेक्ट्रोनिक्स एन्ड होम अपलायनसेस अन्तर्राष्ट्रिय प्रदर्शनी
नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायनसेस अन्तर्राष्ट्रिय प्रदर्शनी काठमाडौंमा सुरु भएको छ । शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शनी सरु भएको हो । प्रदर्शनीलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गरे ।
मिडिया स्पेस सोलुसन्स, फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स, एक्जीबिसन एण्ड ट्रेड सर्भिसेस इण्डिया प्रालि तथा इलेक्ट्रिक भेइकल म्यानुफ्याक्चरर एण्ड इम्पोर्टर्स एसोसिएसन अफ नेपालको संयुक्त आयोजनामा प्रदर्शनी सरु भएको हो । प्रदर्शनीमा नेपाल विद्युत प्राधिकरण तथा नेपाल सौर्य विद्युत उत्पादक संघ सहयोगी संस्थाको भूमिकामा रहेका छन् । मिडिया स्पेस सोलुसन्स नेपालका अध्यक्ष श्रीजल भट्टराईले यो प्रदर्शनी चौथो पटक भएको र यसपटक स्वदेशी तथा विदेशी कम्पनीका १ सय ५० भन्दा बढी स्टल रहेको जानकारी दिए । स्टलमा उच्च गुणस्तरका अत्याधुनिक प्रविधि भएका ट्रान्समिसन तथा डिस्ट्रीब्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामग्री, वायर, केबल, कन्डक्टर, नवीनतम प्रकारका स्वीच, एलइडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरण, चार्जिङ स्टेशन, ब्याट्री, कार्यालय प्रविधि तथा अन्य विद्युतीय सामग्री प्रदर्शनीमा राखिएका छन् ।
नेपालमा बढ्दो जलविद्युत उत्पादनलाई विभिन्न विद्युतीय माध्यममार्फत खपत बढाउने, आयात प्रतिस्थापनमा सहयोग पुर्याउने र ऊर्जा व्यवसायलाई सबल बनाउन महत्वपूर्ण योगदान पुर्याउने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको उनले बताए । साथै यस प्रदर्शनीले विद्युत, इलेक्ट्रोनिक्स र होम अपलायन्स उद्योगसँग सम्बन्धित व्यवसायीहरूलाई एकै ठाउँमा ल्याई आपसी साझेदारी, अनुभव आदान–प्रदान र नयाँ व्यापारिक अवसरहरू सिर्जना गर्ने विश्वास गरिएको भट्टराईको भनाइ रहेको छ ।
