सर्वोच्च अदालतले खारेज गर्यो बीमा प्राधिकरणका तत्कालित अध्यक्ष शरद ओझाको अल्पकालिन अन्तरिम आदेश
सर्वोच्च अदालतले नेपाल बीमा प्राधिकरणका तत्कालित अध्यक्ष शरद ओझाको अल्पकालिन अन्तरिम आदेश खारेज गरेको छ । यसअघि भदौ २३ गते ओझालाई पदमुक्त गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।
काठमाडौं । सर्वोच्च अदालतले नेपाल बीमा प्राधिकरणका तत्कालित अध्यक्ष शरद ओझाको अल्पकालिन अन्तरिम आदेश खारेज गरेको छ । यसअघि भदौ २३ गते ओझालाई पदमुक्त गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।
आइतबार सर्वोच्च अदालतले उक्त अल्पकालिन अन्तरीम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश दिएको हो ।
न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले सरकारले ०८२ असार ३० गते बीमा ऐन २०७९ को दफा १२ (२) बमोजिमको छानबिन समिति गठन गरेको देखिएको र सो समितिले निवेदकलाई सुनुवाइको मौका समेत प्रदान गरेको ठहर गरेको छ।
समितिले प्राप्त कार्यादेश बमोजिम छानबिन गरी ओझाको सम्बन्धित क्षेत्रमा कम्तीमा ५ वर्षको उच्च व्यवस्थापकीय कार्यानुभव नभएको भन्ने समेत आधारमा कार्यक्षमताको अभाव भएको भनी सिफारिस गरेअनुरुप सरकारले उनलाई पदमुक्त गर्ने निर्णय गरेको देखिएको सर्वोच्चको आदेशमा भनिएको छ।
अदालतको आदेशसँगै नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि समेत नयाँ बाटो खुलेको छ ।
