नेपाल टेलिकम राज्यको डिजिटल मेरुदण्ड हो: गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल टेलिकमलाई राज्यको डिजिटल मेरुदण्डका रूपमा व्याख्या गरेका छन् । उनले दुर्गम हिमाली क्षेत्रदेखि तराईका गाउँबस्तीसम्म सञ्चारको पहुँच विस्तार गरेर नेपाल टेलिकमले देशको समग्र विकासमा योगदान दिँदै आएको उल्लेख गरे ।

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल टेलिकमलाई राज्यको डिजिटल मेरुदण्डका रूपमा व्याख्या गरेका छन् । नेपाल टेलिकमको २२ औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले नेपाल टेलिकम केवल एक दूरसञ्चार संस्था मात्र नभई राष्ट्रिय एकता, सेवा प्रवाह र आर्थिक क्रियाकलापको महत्वपूर्ण आधार भएको बताएका हुन् ।

उनले दुर्गम हिमाली क्षेत्रदेखि तराईका गाउँबस्तीसम्म सञ्चारको पहुँच विस्तार गरेर नेपाल टेलिकमले देशको समग्र विकासमा योगदान दिँदै आएको उल्लेख गरे । प्राकृतिक विपद्, महामारी तथा अन्य आपत्कालीन अवस्थाहरूमा नेपाल टेलिकमले खेलेको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको पनि गृहमन्त्री अर्यालले बताए । गृहमन्त्री अर्यालले आजको युगमा दूरसञ्चार मानव जीवनको आधारभूत आवश्यकतामा रूपान्तरित भइसकेको उल्लेख गर्दै दूरसञ्चार सेवा अत्यावश्यक भइसकेको धारणा राखे । उनले प्रतिस्पर्धी बजार, संस्थागत दायित्व, सेवा गुणस्तर र प्रविधिगत नवप्रवर्तनबीच सन्तुलन कायम गर्दै नेपाल टेलिकमले ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राख्ने विश्वास व्यक्त गरे ।

उनले नेपाल टेलिकमलाई आफ्नो विशाल सञ्जाल, प्रचुर पूर्वाधार, दक्ष मानव पूँजी, पर्याप्त बजार सम्भावना र उपलब्ध स्रोतको कुशल व्यवस्थापन तथा परिचालनमार्फत प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नेतर्फ अग्रसर हुन आग्रह गरेका हुन् ।